विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ । आज मात्रै प्रदेश १ मा १ हजार ९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कका अनुसार आज १ हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ ।

परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ । अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो ।

हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।