एजेन्सी / भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसीले जनाएको छ ।

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् । बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा आगो नियन्त्रण आएको थियो।

उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् । आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ। राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ।