• अमर काफ्ले 

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीमा चमेना गृह संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको छ ।
तीन दिन अघि स्वाब संकलन गरिएका पुरुष प्रहरी जवानको रिपोर्ट पोजेटिभ आएको हो । इनरुवा अस्पतालमा प्रहरी प्रमुखसहित ३० जनाको स्वाब संकलन गरिएको थियो । सो मध्ये प्रहरी कार्यालय भित्रको क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

प्रहरी प्रमुख कमल थापाले प्रहरी जवानमा कोरोना पोजेटिभ पाइएको पुष्टि गरेका छन् । महिला सेलसँगै रहेको क्यान्टिन चलाउँदै आएका प्रहरी जवान परिवारसहित बस्दै आएका व्यक्ति हुन् ।

एसपी थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिएसँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । थापाका अनुसार क्यान्टिनमा प्रहरीहरु नास्ता खान पुग्ने र स्वयं संक्रमित पुरुषले कार्यालयका फाँटफाँटमा चिया नास्ता बोकेर लैजाने गरेकाले समेत प्रहरी कार्यालयमा संक्रमणको जोखिम बढेको छ ।
प्रहरी कर्मचारीहरुका अनुसार संक्रमित भेटिएका व्यक्ति आवश्यक सरसामान खरीदकालागि बजार पसल सम्म पुग्ने गरेको बताउँछन् । उनीहरुले कार्यालय सिल गरिनु पर्ने माग गरेका छन् ।

सुनसरी प्रहरीले कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको जनाएको छ । संक्रमित सँगको प्रत्यक्ष सम्पर्कको आधारमा पहिलो चरणमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परिक्षण गरिने प्रहरी प्रमुख थापाले बताए । उनले त्यस पश्चात आवश्यक परे थप निर्णय लिइने बताए । जसकालागि नगरपालिकाको कार्यालय र स्वास्थ्य कार्यालयसँग समन्वय भैरहेको थापाले जानकारी दिए ।

उता स्वास्थ्य कार्यालय सुनसरीले भने प्रहरी भित्र कोरोना भेटिएकाले थप जोखिम मोल्न नहुने बताएको छ । कार्यालय प्रमुख सागर प्रसाईले तत्काल जिल्ला प्रहरी कार्यालय सिल नगरे पनि सबै प्रहरीलाई सुरक्षित रुपमा परिसर भित्रै राखिनु पर्ने र बाहिर आउजाउमा रोकी परिक्षण गराइनु पर्ने बताए ।