धरान । धरान–४ शिवजट्टाको कालिमाटीमा पहिरोका कारण दुई परिवार विस्थापित बनेका छन् भने एक घर उच्च जोखिममा रहेको छ ।

अविरल परेको वर्षाका कारण आएको पहिरोले शिवलक्ष्मी राई, गोपीलाल राई र भीमु राईको घर पहिरोको जोखिममा परेको हो । जसमध्ये गोपीलाल र भीमुको परिवार विस्थापित बनेका हुन् । उनीहरू छिमेकीको घरमा आश्रय लिन पुगेका छन् भने शिवलक्ष्मी उच्च जोखिम रहे पनि घरमै बसिरहेका छन् । उनीहरूको घरको आँगनबाटै पहिरो गएको छ । पहिरोले प्रभावित बनाएपछि धरान उपमहानगरको प्राविधिकसहितको धरान–४ को टोलीले शुक्रबार निरीक्षण गरिएको नेकपाका धरान नगर इन्चार्ज तथा नेकपा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले शिवलक्ष्मीको धान खेतसमेत पहिरोले पुरेको जानकारी दिए ।

उनका अनुसार पहिरोको जोखिम भएकाले गोपीलाल र भीमुलाई घरमा नबस्न आग्रह गरिएपछि छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् । शिवलक्ष्मीलाई भने सचेत रहन आग्रह गरिएको छ । धरान उपमहानगरका प्राविधिक अरुणकुमार साह, धरान–४ का वडा सदस्य गोरसमान आले मगर, वडा सचिव राजन चाम्लिङ, नेकपाका ४ नम्बर वडा इञ्चार्ज चन्द्र कुलुङसहितको टोली पुगेको थियो । टोलीले प्राविधिक रूपमा छेकवार लगाउने विषयमा निरक्षण गर्दै नापजोख गरेको थियो । उक्त गाउँ नै अहिले पहिरोको जोखिममा रहेकाले सबैलाई सचेत गराइएको छ ।