भोजपुर । जिल्ला सदरमुकाममा रहेको नयाँ बसपार्कको पर्खाल निर्माण सम्पन्न भएको महिना दिन नबित्दै भत्किए पछि युवाहरुलो मेयरलाई सिमेन्ट र माटो उपहार दिएका छन् । नगरपालिकाको चरम लापारबाहीका कारण पर्खाल भत्किएको भन्दै युवाहरुले भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेलाई सिमेन्ट र माटो उपहार दिएका हुन् ।

प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा नगरपालिकाको वडा नम्बर ७ कोदारस्थित नयाँ बसपार्कको पर्खाल भत्किएको युवाहरुले आरोप लगाएका छन् । विकाशको काम गर्दा पहुँचका आधारमा मात्र हुने र मनोमानी ढंगमा काम सकेको स्थानीय युवा प्रकाशसिं राईले बताए । राईले भने “ बिकाश निर्माणका कामहरु पहुँचका आधारमा आफ्नालाई गरिखाने भाँडा बनाईयो, पर्खाल निर्माणको काममा पनि चरम लापबाही भयो , दिर्घकालीन र टिकाउ काम देखिएन यस प्रति हामी युवाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।”

गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेपनि गुणस्तरिय काम नभएको अर्का स्थानीय युवा मनोज बयलकोटीको आरोप छ । पर्खाल निर्माणमा लापारबाही ढंगबाट प्राविधिक ईस्टिमेट भएकाले पर्खाल महिना दिन पनि नटिकेको स्थानीयको गुनासो छ । लाखौँको लगानीमा बनेको पर्खाल महिनादिन पनि नटिकेपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

यस्तै निर्माण समितिका अध्यक्ष टेक भण्डारीले पनि प्राविधिक ईस्टिमेट गलत भएको बताए । भण्डारीका अनुसार पुरानो पर्खालमा नगरपालिकाका प्राविधिकले पर्खाल लगाउने ईस्टिमेट गरेकाले पर्खाल भत्किएको हो । पुरानो पर्खालमाथि नया पर्खाल नलगाउन भने पनि नगरपालिकाका प्राविधिकले गलत ईस्टिमेट गरेपछि पर्खाल महिना दिन नपुग्दै भत्किएको समितीका अध्यक्ष भण्डारीले आरोप लगाएका छन् ।

यता नगरपालिकाका मेयर कैलाश कुमार आलेले भने अविरल वर्षाका कारण नया बसपार्कको पर्खाल भत्किएको बताए । पुरुवा माटोमा निर्माण गरिएको पर्खाल निरन्तरको वर्षाले भत्काएको उन्को दावी छ । प्राविधिक संग बुझ्दा ईस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएको मेयर आलेले प्रतिक्रिया दिए ।

उनले भने, “पुरुवा माटोमा निर्माण गरिएको पर्खाल निरन्तर वर्षाले भत्काएको छ, हामीले प्राविधिक संग बुझ्दा ईस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएका थियौँ , प्राकृतिक विपतmीका कारण पर्खाल भत्किएको हो , यसलाई अन्यथा लिनु हुदैन ।” उनले भत्किएको पर्खालको पुनः निर्माणका लागि अर्काे शिर्षकमा बजेट विनियोजन गर्नु बाहेक अर्काे विकल्प नरहेको बताए ।
पर्खाल निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ को प्रदेश सांसद कोषबाट १९ लाख बजेट छुट्याईएको थियो ।