मधुमल्ला /  मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ निवासी ५८ वर्षीय  अशक्त (अपाङ्ग) नागरिक खड्गबहादुर लावती (अक्कारु) ले नेपालको नेपाली नागरिकता प्राप्त गरेका छन् ।
अपाङ्ग खड्गबहादुरले बिहीबार नेपाली नागरिकता प्राप्त गरेका हुन  ।  खड्गबहादुर राम्रोसँग बोल्न सक्दैनन् । सामान्य बोली आए पनि उनको बोली बुझिँदैन ।

बिहीबार इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्रप्रसाद चापागाईँले इलाका प्रशासन कार्यालय उर्लाबारीबाट खड्गबहादुरलाई  नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराएका थिए । परिवारका सदस्य र समाजका अगुवाहरूले समेत समयमा चासो नदिँदा अशक्त खड्गबहादुर नेपाली नागरिकताको प्रमाण–पत्र लिनबाट बञ्चित रहेका थिए ।

खड्गबहादुरको नागरिकता नहुँदा आपाङ्गता भएका व्यक्तिहरूले पाउने विभिन्न प्रकारका सुविधाहरूबाट समेत बञ्चित हुँदै आएका थिए । बिहीबार इलाका प्रशासन कार्यालयमा खड्गबहादुरको हातमा नगरिकता पर्दा उनी फुरुङ्ग थिए । खड्गबहादुरले नागरिकता हातमा लिदैं खुसीका आँसुसमेत झारेको इलाका प्रशासन कार्यालय उर्लाबारीका नायब सुब्बा सुरेन्द्र राज दाहालले बताए  ।  

आवश्यक प्रमाण र कागजात पुगेका तर नेपाली नागरिकता लिन छुटेका नागरिकहरुलाई इलाका प्रसाशन कार्यालय उर्लाबारीले सरल र सहज तवरले नेपाली नागरिकता उपलब्ध गराउँदै आएको  इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्रप्रसाद चापागाईँले बताए ।