धरान / कोरोना संक्रमितको सम्पर्कमा आएका प्रदेश १ का सभामुख प्रदीप भण्डारीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सभामुख भण्डारी धरान १३ जिरोपोइन्ट बस्ने एक २८ वर्षीय संक्रमित युवाको सम्पर्कमा रहेका थिए । उनीसहित उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको समेत रिर्पोट नेगेटिभ आएको वीपी प्रतिष्ठानले जनाएको छ ।

सभामुख भण्डारीसहित उनका परिवारका सदस्यको पनि स्वाव संकलन भएको थियाे । सभामुख भण्डारी र उनका श्रीमतिको स्वाव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशलामा पिसिआर जांचकालागि बुधबार नै दिइएको थियो । सभामुख भण्डारीको परिवारमा रहेका ति युवामा संक्रमण देखिए पछि परिवार तथा सभामुख निकट रहने, उनका सचिवालयका कर्मचारीहरुमा त्रास फैलिएको थियो ।

सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जना सबैको रिपोर्ट नेगेटिभ आए पछि त्रास कम भएको छ ।
संक्रमित युवालाई प्रतिष्ठानको आइशोलेसन वार्डमा राखिएको छ । श्रोतका अनुसार संक्रमित युवाको ट्राभल हिस्ट्री खुलेको छैन । उनी धरानमै बसेर तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको एक उद्योगमा अडिटको काम गर्दै आएका थिए । ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा कोरोना संक्रमण हुनुले धरानमा पनि सामुदायिक स्तरमा संक्रमण फैलिएको हुनसक्ने विष्लेशण गर्न थालिएको छ ।
प्रहरीका अनुसार ती युवा कार्यरत औद्योगिक क्षेत्रको उद्योग शिल गरिएको छ भने उनको सम्पर्कमा आएका १४ जनाको स्वाव संककलन गरी प्रतिष्ठानमा पठाइएको थियो ।