झापा/ आफ्नो भएको सवै सम्पत्ती उपचारमा सकिएपछि खर्च अभावमा काठमाडौंमा छटपटाई रहेकी झापा कनकाई नगरपालिका– ८ लक्ष्मीपुरकी मेनुका ढुङगेल (बास्तोला) का परिवारले उपचारमा सहयोग पुर्याइदिन सवै समक्ष अपिल गरेका छन् ।
विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगका कारण ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको सिभिल अस्पतालमा छटपटाई रहेकी छिन् । उपचारका क्रममा आफ्नो भएको सवै सम्पत्ति सकिएपछि उनका परिवारले उपचारको विकल्प खोज्न बाध्य भएको बताएका छन् । उनीहरुले मेनुका वास्तोला बचाउ अभियान सञ्चालनका लागि समिति समेत गठन गरेका छन् ।
उनको उपचारमा आफुसँग भएको र सरसापट गरेर हालसम्ममा १२ लाख खर्च भइसकेको छ भने अरु ७ लाख भन्दावढि खर्च लाग्ने अस्पतालले बताएको उनकी सासु विष्णुमाया बास्तोला (सालदिदि) ले बताइन् । ‘नरनाता, आफन्त र छरछिमेकसँग १०/२० हजार माग्नु पर्ने ठाउँमा मागी सके’ सालदिदिले भावुक बन्दै भनिन् ‘ अव कतैबाट पैसा जुटाउने अवस्था छैन ।’ अलिकति भएको जग्गा र घर पनि धितो राखेको उनले बताइन् ।
मेनुकाका श्रीमान् कुलप्रसाद तथा छोरा विदेशमा रहे पनि श्रीमानको एक बर्षदेखि काम नभएकोे र छोरा लकडाउन अघि मात्र गएका कारण पैसा पठाउन सक्ने अवस्थामा नरहेको छिमेकी टेकबहादुर गिरी र अर्जुन रेग्मीले बताए । ७० बर्षिया सासुले अहिलेसम्म आफुसँग भएको जायजेथा र आफन्तको सहयोगले उपचार गर्दै आएको उनीहरुको भनाई छ । उनका छोरा र नाती कोरोना महामारीले गर्दा आइहाल्न सक्ने अवस्था समेत नरहेको उनीहरुको बताए ।
अहिले सासु सालदिदिले आफ्नो बुहारी बचाइदिन सवैलाई हारगुहार गर्दै आएकी छिन् । मिलनसार तथा सहयोगी बास्तोलालाई समिति गठनकै समयमा ३४ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । यसअघि पनि नेपाल सरकारबाट १ लाख, पाटन हस्पिटलबाट २ लाख र आफन्त तथा अन्यदाताहरुबाट २ लाख २ हजार ८ सय रुपैयाँ संकलन भइसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।
मेनुकालाई बचाउन परिवारका चन्द्र ढुङगेल र केदार ढुङगेलको संयोजनमा लक्ष्मीपुरमा स्थानीय तथा सामाजिक अगुवासहितको उपस्थितिमा सहयोग संकलन समिति गठन गरेका छन् ।
कनपा–८ का अध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा भएको समिति गठनमा उपाध्यक्षमा हिमाली माविका प्रधानाध्यापक केशवप्रसाद ओझा, सचिव हिमाली माविका शिक्षक छविलाल कट्टेल, कोषाध्यक्षमा परिवारकी गीतादेवी निरौला छन् ।
त्यस्तै सदस्यमा कनकाई उद्योग बाणिज्य संघ, सुरुंगा जेसीज, लायन्स क्लवअफ कनकाई, रोटरी क्लव अफ सुरुंगा, कनकाई खेलकुद प्रतिष्ठान, लक्ष्मीपुर बजार व्यवस्थापन समिति, होलिवेशिल बोडिङ स्कुल, लक्ष्मीपुर खानेपानी तथा सरसफाई संस्था, झापा बस्तु तथा सेवा संरक्षण संघ, छठ सेवा समाज सुरुंगा र अर्जुनधारा ५– वडा कार्यालय रहेका छन् । बास्तोला बचाउन अभियान समितिले एकहप्ताहसम्ममा आवश्यक पर्ने रकम आर्थिक संकलन गरिसक्ने प्रतिवद्धता ब्यक्त गरेको अध्यक्ष प्रेमबहादुर कटुवालले जानकारी दिए ।