धरान/ स्वर्गीय लेखक भुईंदल राईको स्मृतिमा ‘भुईंदल राई इतिवृत्त’ पुस्तक लोकार्पण भएको छ । आइतबार इटहरीमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस्तक लोकार्पण गरे ।

स्वर्गीय श्रीमती जनकमाया भुईंदल राई फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, साहित्यकार बम देवान, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष बलराम राई, किरात राई बान्तवा खिमका अध्यक्ष ज्ञान किरातीलगायतको उपस्थिति रहेको थियो । स्वर्गीय राईको बारेमा बोल्दै वक्ताहरूले उनले समाजमा दिएको योगदानको चर्चा गरेका थिए ।

प्रा.डा. न्यौपानेले सदरमुकामबाट पनि हेपिएको भोजपुरको दक्षिणी क्षेत्रमा जन्मिएका भुईंदलले राजनीति, साहित्य र सामाजिक कार्यमा राष्ट्रियस्तरमा प्रभाव पारेको बताए । फाउण्डेसनका अध्यक्ष तथा स्वर्गीय राईका छोरा गङ्गाराज राईको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा भुईंदलकै अर्का छोरा किवाङहाङ राईले भुईंदलको जीवनी जुनाएका थिए । पुस्तकको सम्पादन बुङ्वाखा पत्रिकाका सम्पादक पदम वालाहाङ राईले गरेका थिए ।

भुईंदलका ९७ कृति प्रकाशित छन् । २००७ सालको क्रान्तिबाट राजनीतिमा लागेका उनी २०१९ मा भोजपुर जिल्लाको पहिलो निर्वाचित जिल्ला पञ्चायतको सभापति भएका थिए । त्यसपछि २०२० देखि ०२२ सम्म सगरमाथा अञ्चल निर्देशन अधिकारी, २०२४ मा राष्ट्रिय पञ्चायत सदस्य र २०३७ मा भोजपुर जिल्ला विकास समितिका अध्यक्ष रहेका थिए । उनको गत चैत २६ गते ९१ वर्षको उमेरमा निधन भएको थियो ।