भोजपुर/ जिल्लाको रामप्रसाद राई गाउँपालिकामा राहतको नाममा गुणस्तरहीन चामल उपलब्ध गराउने सप्लायर्सलाई कालो सूचीमा राखिएको छ । करार सम्झौता विपरीत गुणस्तरहीन चामल उपलब्ध गराउने हतुवागढी गाउँपालिका–१ घोडेटारको थापा सप्लायर्सलाई कारबाही स्वरूप कालो सूचीमा राखिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले सप्लायर्सको धरौटी जफत गरेर कालो सूचीमा राख्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख सम्झना राई ‘सन्ध्या’ ले बताइन् ।

बैठकमा सुख्खा खडेरी र कोभिड–१९ महामारीका कारण आयआर्जन गुम्न गई जीवन यापन गर्न कठिनाइ भएका गाउँपालिकाका जनतालाई गुणस्तरहीन चामल उपलब्ध गराउने सप्लायर्सलाई कालो सूचीमा राखेर धरौटी जफत गर्ने निर्णय गरेको उपप्रमुख राईले जानकारी दिइन् । राहत स्वरूप ६ वटा वडाका २१ सय ८४ परिवारलाई गुणस्तरहीन चामल उपलब्ध गराएपछि सप्लायर्सलाई कारबाही गर्ने निर्णय गरिएको वडानम्बर २ का अध्यक्ष राजकुमार तामाङले बताए । राहतका नाममा बाँडिएको चामल सम्झौताभन्दा कमसल आएको सप्लायर्सले समेत स्वीकार गरेकाले कारबाही प्रक्रिया अगाडि बढाइएको वडानम्बर १ का अध्यक्ष सहदेव राईले स्पष्ट पारे ।

सम्झौतामा सोना मन्सुली उल्लेख गरिए पनि हात्तीछाप ब्राण्डजस्तै चामल वडानम्बर २ धोत्लेखानीका जनताले पाएको वडाध्यक्ष तामाङले गुनासो गरे । मन्सुली ब्राण्डको चामल भनिए पनि चामलको गुणस्तर भने कमसल पाइएको वडानम्बर २ का स्थानीय अजम्बर राईले बताए । चामलमा ढुङ्गा, कनिका, चुराको टुक्रा र प्रशस्त बियाँ भेटिएको राहत लिएका स्थानीय जनताले गुनासो गरेका छन् ।

राहतको नाममा आफूले पाएको सडिसकेको चामल पकाएर खाँदा स्वाद नै नआएको वडानम्बर ३ भुल्केका स्थानीय टेकराज भट्टराईले दुःखेसो पोखे । यता वडानम्बर १ ओख्रेमा बाँडिएको चामल पनि गुणस्तरहीन पाइएको वडाध्यक्ष राईले बताए । चामल जनताको घर घरमा पुगेपछि मात्र गुणस्तरहीन भएको थाहा पाएको अध्यक्ष राईले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतद्वारा बैठकको निर्णय दिन इन्कार
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जङ्गम राईले कार्यपालिका बैठकको निर्णयको सूचना दिन इन्कार गरेका छन् । फोनबाट सूचना लिँदा जनतामा सत्य–तथ्य सूचना प्रवाह नहुने भन्दै उनले सूचना दिन इन्कार गरेका हुन् ।

सप्लायर्सले ल्याएको गुणस्तरहीन चामलको छानबिन समितिमा समेत नरहेका अधिकृत राईले स्रोतको गोपनीयतामाथि प्रश्न उठाएका हुन् । फोनबाट बैठकको निर्णयको सूचना माग्दा अधिकृत राईले निवेदनसहित कार्यालयबाटै सूचना लिन सकिने जवाफ दिएका छन् ।

अधिकृतले बैठकको निर्णय दिन इन्कार गर्नु जनताको सूचना पाउने अधिकारमाथि भोटे ताल्चा लगाउनु जस्तै भएको भन्दै वडानम्बर १ का वडाध्यक्ष सहदेव राईले कडा आपत्ति जनाएका छन् । कार्यपालिकाको संस्थागत निर्णयको सूचना पाउने अधिकार जनताको भएको जिकिर गर्दै वडाध्यक्ष राईले जनतालाई सूचना दिन इन्कार गर्न नहुने बताए । बैठकको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले निर्णय तोडमोड भए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने समेत चेतावनी दिएका छन् ।

वडानम्बर ७ र ८ को राहत वितरण रोकियो
गुणस्तरहीन चामल बाँडिएपछि व्यापक गुनासो आएकाले दुईवटा वडाको राहत वितरण भने रोकिएको छ । वडानम्बर ७ र ८ को राहत वितरण रोकिएको वडानम्बर ८ का वडाध्यक्ष मनोज राईले बताए ।

बाँड्न बाँकी दुईवटा वडाको चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै रहेको उनले जानकारी दिए । उनले भने, ‘चामल गुणस्तरहीन भएको थाहा पाए पछि जनताका नाममा आएको राहत वडामा ल्याएका छैनौं, त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरयुक्त चामल ल्याउनुपर्छ, अनि मात्र हाम्रो वडामा राहत वितरण हुन्छ, हामी राहतको नाममा गुणस्तरहीन चामल बाँडेर जनतासँगको दूरी बढाउन चाहन्नौं ।’ यस्तै राहत वितरण रोकिएको वडानम्बर ७ का अध्यक्ष सूर्य राईले पनि मिसावट भएको कमसल चामल नबाँड्ने बताएका छन् । राहतको नाममा जनताको भावनासँग खेलवाड गर्न नहुने उनको तर्क छ ।

चामलको ठेक्का पाएको सप्लायर्सले पनि चामल गुणस्तरहीन भएको स्वीकार गरेको छ । सप्लायर्सका सञ्चालक रविन थापाले मिलका कर्मचारीले हकुवा चामल पठाएको दाबी गरे । थापाले तीनवटा मिलमध्ये सुनसरीको कालाबञ्जारमा रहेको सौभाग्य राइस मिलले हकुवा चामल दिएको बताए ।

सप्लायर्सले ४५ लाख ९० हजार १ सय रुपैयाँमा चामलको ठेक्का पाएको थियो । सप्लायर्सले २५ केजीका ३२ सय २४ बोरा चामलको ठेक्का पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जङ्गम राईले बताए । सप्लायर्ससँग प्रतिकेजी ५६ रुपैयाँ ९५ पैसा पर्ने सोना मन्सुली चामल उपलब्ध गराउने सम्झौता भएको अधिकृत राईले जानकारी दिए ।

अधिकृत राईका अनुसार राहत वितरणकै लागि ६ लाख ३४ हजार ९ सय ७४ मूल्य बराबरको खाने तेल र आयोडिनयुक्त नुन समेत खरिद गरिएको थियो । प्रेम भेराइटी हतुवागढीले ६ लाख २५ हजार ४ सय ५६ रुपैयाँको खाने तेल र ९५ हजार १ सय ८ रुपैयाँको आयोनुन उपलब्ध गराएको हो । नुन र खाने तेलमा भने मिसावट नभेटिएको गाउँपालिकाले जनाएको छ ।