विराटनगर/ कोशी अस्पतालको फिवर क्लिनिकमा आएका विराटनगरका ७ जनामा मङ्गलबार कोरोना देखिएको छ । गत आइतबार फिवर क्लिनिकमा आएका ३५ जनाको स्वाब सङ्कलन गरेकोमध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको कोशी अस्पतालका सुपरिटेण्डेण्ट मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘उनीहरू ज्वरो आएपछि अस्पतालको फिवर क्लिनिकमा आएका थिए’ उनले भने, ‘गत आइतबार फिवर क्लिनिकमा आएका ३५ जनाको स्वाब सङ्कलन भएको थियो । त्यहीमध्येका ७ जनाको पीसीआर प्रविधिबाट गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।’ अहिले सङ्क्रमित देखिएकाहरू लक्षणसहितका बिरामी रहेको उनले बताए ।

फिवर क्लिनिकमा आउनेहरू लक्षण देखिएपछि आउने भएकोले अहिले लक्षणसहितका सङ्क्रमित देखापर्न थालेको मेसु दासले बताए । केही दिनअगाडि कोरोना सङ्क्रमण पुष्टि भएको कोशी अस्पतालका एक जना चिकित्सकमा पनि लक्षण देखापरेको थियो । सप्तरी घर भएका ती चिकित्सकलाई ज्वरो आएपछि अस्पतालको ल्यावमा स्वाब सङ्कलन गरिएको थियो ।

परीक्षणबाट गत शनिबार कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमण देखिएका ती चिकित्सकले अस्पतालमा काम भने शुरू गरेका थिएनन् । सप्तरी घरबाट आएलगत्तै ज्वरो आउन थालेपछि उनको स्वाब सङ्कलन गरिएको थियो । अहिले उनको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।