विराटनगर/ विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पतालमा) कार्यरत थप दुईजना डाक्टरसहित प्रदेश १ मा मङ्गलबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको ल्याव र प्रदेश जनस्वास्थ्य ल्यावमा गरिएको परीक्षणमा विराटनगरमा मात्र १६ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबारसम्म विराटनगर महानगरपालिकाभित्र सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।

विराटनगरमा मङ्गलबार देखिएको १६ जना सङ्क्रमितमध्ये एक जना विशेषज्ञ चिकित्सक हुन् । विराट नर्सिङ होमका सञ्चालकसमेत रहेका चिकित्सक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पोजेटिभ देखिएपछि महानगरपालिकाले कट्याक्ट ट्रेसिङ गरी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरूको स्वाब सङ्लकन गरेको थियो ।

मङ्गलबार आएको रिपोर्टअनुसार विराट नर्सिङ होमको रेडियोलोजी विभागका एकजना चिकित्सक र अर्का विराट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक रहेको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

मङ्गलबार आएको रिपोर्टअनुसार सोही अस्पतालका अन्य ५ जना कर्मचारीहरूमा पनि सङ्क्रमण देखिएको विराटनगर महानगरपालिकाको कोभिड टिमका सुपरभाइजर हैदर अलीले जानकारी दिए । अस्पतालका सञ्चालकलाई कोरोना पोजेटिभ देखिएपछि विराटनगर महानगरपालिकाको कन्ट्याक्ट ट्रेसिङको टिमले अहिले सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन शुरू गरेको छ ।

‘अहिलेसम्म २ सयभन्दा बढीको स्वाब सङ्कलन भइसकेको छ’ महानगरपालिकाको कोभिड टिमका सुपरभाइजर अलीले भने, ‘सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको धमाधम स्वाब सङ्कलन गर्दै आएका छौं । मङ्गलबार सङ्क्रमित देखिएका चिकित्सकहरूको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरिन्छ ।’ उनका अनुसार मङ्गलबार विराट अस्पतालबाट ६० जनाको स्वाब सङ्कलन गरी ल्यावमा पठाएको जानकारी दिए ।

मङ्गलबार मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र बिर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ६६ पुगेको छ । प्रदेश १ मा मङ्गलबार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले बताए । उनका अनुसार हालसम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।