इनरुवा/ समुदायमा कोरोना फैलन नदिन इनरुवामा लकडाउनलाई कडाइ गरिएको छ । इनरुवा–३ महेन्द्र चोकका स्थानीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरक्षेत्रमा प्रशासनले लकडाउन गरेको छ ।

विराटनगरमा पीसीआर परीक्षणको क्रममा इनरुवा घर भएका व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि कन्ट्याक्ट ट्रेसिङलाई आधार मानी प्रशासनले नगरक्षेत्रमा शुक्रबारबाटै लकडाउन गरेको हो ।

स्थानीय तह, उद्योग वाणिज्य सङ्घको समन्वयमा लकडाउनलाई प्रभावकारी बनाउन लागिपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पुनः लकडाउनसँगै लामो समयपछि खुलेका इनरुवाका बजार, पसल बन्द भएका छन् । उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा बजार क्षेत्रमा सुरक्षाकर्मीले कडाइ गर्न थालेका छन् ।

यसैबीच स्वास्थ्य कार्यालय सुनसरीले शनिबार ४१ जनाको स्वाब सङ्कलन गरेको छ । सङ्क्रमित किनमेलका लागि पुगेको पसलमा सामान खरिदका लागि पुगेका सङ्घीय सांसद् सीताराम मेहतासहित सङ्क्रमितसँगको प्रत्यक्ष सम्पर्कको आधारमा परिवारसहित छिमेकीका साथै कपडा पसल र बजार क्षेत्रका व्यापारीहरूको स्वाब सङ्कलन गरिएको हो ।

सङ्कलन गरिएको स्वाबको रिपोर्ट आएपछि मात्रै लकडाउन सम्बन्धी अर्को निर्णय गरिने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । नगरप्रमुख राजन मेहताका अनुसार स्वाब पहिलो चरणमा स्वाब सङ्कलन गरिएकाहरूको रिपोर्टका आधार थप ट्रेसिङ र लकडाउनको विषयमा पुनर्विचार गर्ने बताए ।