सङ्खुवासभा/ सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दाका पहिरोबाट विस्थापित हरूसम्म राहत सामग्री पुर्याउन समस्या भएको छ ।
वर्षायाम शुरु भएसँगै साना तथा ठूला सवारी साधन चल्नै नसक्ने गरी बाटो बिग्रिएपछि समस्या भएको हो । सहयोगी सङ्घ–संस्थाहरूले वितरण गरेको राहतसमेत कि त मान्छेको शहरामा कि त हेलिकप्टर नै चार्टर गर्नुपर्ने बाध्यता रहेको छ । मानेभञ्ज्याङदेखि चन्दनपुरसम्म घाम लागेको समयमा मात्र सवारी साधन चल्छ । चन्दनपुरदेखि हेलुवाबेंसी सडक ठप्प अवस्थामा छ ।
अरुण नदीमा पुल नभए पनि भोजपुरको बुम्लिङटारदेखि बुधबारेसम्म हिउँदमा टुक्रे गाडी चल्थ्यो तर वर्षा लागेसँगै सडकमा सङ्खुवाखोला कुद्छ । सङ्खुवा खोलाको बहाव बढेसँगै सवारी साधन त के पैदलयात्रा गर्नसमेत समस्या भएको सिसुवाखोलाका सन्तोष कुलुङले बताए । उनले पैदल यात्रा गर्नसमेत मौसम हेरेर गर्नुपर्ने बाध्यता रहेको बताए । दुङ्मा भीर हुँदै जाने सडकको बुम्लिङ–बुधबारे खण्ड पूर्णरूपमा काम नलाग्ने भएको छ ।
सहयोगीहरूले राहत सामग्री नै उपलब्ध गराए पनि सम्बन्धित पीडितहरूसम्म पु¥याउन स्थानीय सरकारलाई सकस भएको छ । गत २७ गतेको अविरल वर्षासँगैको पहिरोले ९ घर बगाउँदा ११ जना बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । पहिरोमा घाइते भएका ४ जनाको सकुशल उद्धार गरिएको थियो भने पहिरोपीडितको उद्धारका क्रममा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको थियो ।
प्रदेश १ सरकारले मङ्गलबार हेलिकप्टरबाट राहत सामग्री पु¥याएको थियो । मङ्गलबार हेलिकप्टर राहत र औषधिसहितको सामग्री लिएर सिलिचोङको बुधबारे पुगेको हो । खराब मौसमका कारण सिलिचोङको चित्रेका लागि उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि सिसुवाटारको बुधबारे बजारमा राहत सामग्री झारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । प्रजिअ आचार्यका अनुसार चित्रेमा दिउँसोसमेत बाक्लो हुस्सु र कुहिरो लागेको कारण सेनाको हेलिकप्टर बस्न सकेको थिएन । बेसिन्दामा गएको पहिरोका कारण विस्थापित बनेका ८६ घरलाई चित्रेमा राख्ने भनिए पनि स्थानीयको राय बमोजिम बुधबारेमा अस्थायी बासको व्यवस्था मिलाएको छ ।
व्यक्तिगत राहत छिटो
घटना घटेको खबर पाउनासाथ पूर्व राज्यमन्त्री दीपक खड्का र हिमाल आरोही मिङ्मा शेर्पा सिम्रिक एयरको हेलिकप्टर मार्फत् घटनास्थल पुगे । उनीहरू हेलिकप्टरमा अट्नेगरी चामल, दाल, न्युटेला, चाउचाउ, बिस्कुट लिएर बेसिन्दा पुगेका थिए । उनीहरूले हेलिकप्टर पुर्याएपछि स्थानीयले राहत महसुस गरेका थिए । घटना भएको दोस्रो दिन उनीहरूले तुम्लिङदेखि बेसिन्दा २ पटक राहत सामग्री पु¥याए । पहिरोबाट उद्धार गरिएका बिरामीहरूलाई अस्पतालसम्म हेलिकप्टरमार्फत् निःशुल्क चार्टर गरिदिए तर सरकारी राहत बोकेको सेनाको हेलिकप्टर भने घटना भएको चौथो दिन मात्र पुग्यो । खड्का र शेर्पासहित नेपाली काङ्ग्रेसका सभापति दिपनकुमार श्रेष्ठ, क्षेत्रीय सभापति उमेश चौहान लगायतले घटनास्थलमा नै पुगेर राहत वितरण तथा उद्धार गरेको थियो ।
प्रदेश १ सरकारले सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित भएका स्थानीयलाई १५ क्विण्टल चामल, २ क्विण्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, ५३ वटा टेण्ट, १० कार्टुन चाउचाउ र १० कार्टुन बिस्कुट तथा म्याट्रेस वितरण गरेको छ । सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैत, सङ्खुवाससभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, सामाजिक विकास समितिका सभापति सरिता खड्का, प्रदेश सांसद् पूर्णप्रसाद राई, तुलसी न्यौपाने र पदमकुमारी गुरुङ सङ्खुवासभा आएका थिए । सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफै राहत सामग्री बोकेर आएका भए पनि खराब मौसमका कारण हेलिकप्टर विराटनगर नै फर्किएको थियो ।
राहत सङ्कलनमा जुट्दै
सिलिचोङ गाउँपालिकाको बेसिन्दामा पहिरोले ९ घर बगाएसँगै त्यहाँ रहेका ८६ घरलाई बालाको बुधबारे बजारमा सारिएको छ । सारिएका ३ सय ४९ जनालाई खाना तथा अन्य आवश्यक वस्तुको लागि राहत सङ्कलनमा विभिन्न सङ्घ–संस्था जुटेका छन् । सिलिचोङ गाउँपालिका–काठमाडौं समन्वय समितिले राहत सङ्कलन अभियान नै थालेको छ ।
विभिन्न देशमा रहेका नेपाली नागरिकहरूबाट स्वेच्छिक सहयोग सङ्कलन तीव्र भएको छ । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमार्फत् पहिरो पीडितका लागि राहत सङ्कलन हुन थालेको छ । सिलिचोङ–काठमाडौं समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङका अनुसार समितिमार्फत् हालसम्म एक लाखको हाराहारीमा राहत सङ्कलन भइसकेको छ । जिल्ला समन्वय समितिमार्फत् पनि विभिन्न सङ्घ–संस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लामा क्रियाशील सङ्घ–संस्थाहरूले राहत दिएका हुन् । उनले पहिरो पीडितलाई राखिएको बुधबारेसम्म चाँडो राहत पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।