संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दाका पहिरोबाट विस्थापित नागरिकहरुलाई राहत उपलब्ध हुन थालेको छ । सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु पहिरो पीडितलाई राहत उपलब्ध गराउन लागि परेको छ ।

प्रदेश १ सरकारले मंगलबार हेलिकप्टरबाट रााहत सामग्री पुराएको थियो । मंगलबार हेलिकप्टर राहत र औषधिसहितको सामग्री लिएर सिलिचोङको बुधबारे पुगेको हो । खराब मौसमका कारण सिलिचोङको चित्रेका लागि उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि सिसुवाटारको बुधबारे बजारमा राहत सामग्री झारिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रजिअ आचार्यका अनुसार, चित्रेमा दिउँसोसमेत बाक्लो हुस्सु र कुहिरो लागेको कारण सेनाको हेलिकप्टर बस्न सकेको थिएन । बेसिन्दामा गएको पहिरोका कारण विस्थापित बनेका ८६ घरलाई चित्रेमा राख्ने भनिए पनि स्थानीयको राय बमोजिम बुधकारेमा अस्थाई बासको व्यवस्था मिलाएको छ ।

व्यक्तिगत राहत छिटो
घटना घटेको खबर पाउनसाथ पूर्व राज्यमन्त्री दिपक खड्का र हिमाल आरोही मिङ्मा शेर्पा सिम्रिक एयरको हेलिकप्टर मार्फत घटना स्थल पुगे । हेलिकप्टरमा अट्नेगरि चामल, दाल, न्युटेला, चाउचाउ विस्कुट लिएर बेसिन्दा पुगेका थिए ।

उनीहरुले हेलिकप्टर पुराएपछि स्थानीयहरुले राहत महसुस गरेका थिए । घटना भएको दोस्रो दिन उनीहरुले तुम्लिङदेखि बेसिन्दा २ पटक राहत सामग्री पराए । पहिरोबाट उद्दार गरिएका विरामीहरुलाई अस्पताल सम्म हेलिकप्टर मार्फत निशुल्क चार्टर गरिदिए तर सरकारी राहत बोकेको सेनाको हेलिकप्टर भने घटना भएको चौथो दिन मात्र पुगे । खड्का र शेर्पा सहित नेपाली कांग्रेसका सभापति दिपन कुमार श्रेष्ठ, क्षेत्रिय सभापति उमेश चौहान लगायतले घटनास्थलमा नै पुगेर राहत वितरण तथा उद्दार गरेको थियो ।

पदेश–१ सरकारले सिलिचोङ गाउँपालिका–१ वेसिन्दा पहिरोबाट विस्थापित भएका स्थानीयलाई १५ क्विन्टल चामल, २ क्विन्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, ५३ वटा टेन्ट, १० कार्टुन चाउचाउ र १० कार्टुन बिस्कुट तथा म्याट्रेस वितरण गरेको छ ।

सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत, संखुवाससभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, सामाजिक विकास समितिका सभापति सरिता खड्का, प्रदेश सांसद पूर्ण प्रसाद राई, तुलसी न्यौपाने र पदमकुमारी गुरुङ सङ्खुवासभा आएका थिए । सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं राहत सामग्री बोकेर आएका भएपनि मौसममा खराबीका कारण हेलिकप्टर विराटनगर नै फर्किएको थियो ।

राहत संकलनमा जुट्दै
सिलिचोङ गाउँपालिकाको बेसिन्दामा पहिरोले ९ घर बगाएसंगै त्यहाँ रहेको ८६ घरलाई बालाको बुधबारे बजारमा सारिएको छ । सारिहएको ३ सय ४९ जना रहेकाहरुलाई खाना तथा अन्य आवश्यक बस्तुहरुकोलागि राहत संकलन विभिन्न संघ संस्था जुटेको छ । सिलिचोङ गाउँपालिका काठमाण्डौ समन्वय समितिले राहत संकलन अभियान नै थालेको छ । विभिन्न देशमा रहेका नेपाली नागरिकहरुको स्वेच्छिक सहयोग संकलन तिव्र भएको छ ।

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल मार्फत पहिरो पिडितका लागि भनेर राहत संकलन हुन थालेको छ । सिलिचोङ काडमाण्डौ समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङका अनुसार समिति मार्फत हालसम्म एक लाखको हाराहारीमा राहत संकलन भई सकेको छ ।

जिल्ला समन्वय समिति मार्फत पनि विभिन्न संघ संस्थाले राहत सामाग्री उपलब्ध गराएका छन् । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लामा क्रियाशिल संघसंस्थाहरुले राहत दिएको हो । उनले पहिरो पिडतलाई राखिएको बुधबारेसम्म चाँडो राहत पुराउने प्रतिवद्धता व्यक्त गरे ।

राहत पुराउनै समस्या
पहिरो पिडितहरुसम्म राहत सामाग्री पुराउन समस्या भएको छ । बर्षायाम सुरु भएसंगै साना तथा ठुला सवारी साधन चल्नै नसक्ने गरि बाटो विग्रीएपछि समस्या भएको हो । सहयोगी संघ संस्थाहरुले गरेको राहत समेत कि त मान्छेको सहरामा कि त हेलिकप्टर नै चार्टर गर्नुपर्ने बाध्यता रहेको छ । मानेभञ्ज्याङदेखि चन्दनपुरसम्म घाम लागेको समयमा मात्र सवारी साधान चल्छ । चन्दनपुर देखि हेलुवाबेंसी सडक ठप्प अवस्थामा छ ।

अरुण नदिमा पुल नभएपनि भोजपुरको बुम्लिङटारदेखि बुधबारेसम्म हिउँदमा टुक्रे गाडी चल्थ्यो तर बर्खा लागेसंगै सडकमा संखुवाखोला कुद्छ । संखुवा खोलाको वहाब बढेसंगै सवारी साधन त के पैदल यात्रा गर्न समेत समस्या भएको सिसुवाखोलाका सन्तोष कुलुङले बताए । उनले पैदल यात्रा गर्न समेत मौसम हेरेर गर्नुपर्ने बाध्यता रहेको बताए । दुङ्मा भिरहुँदै जाने सडकको बुम्लिङ–बुधबारे खण्ड पुर्ण रुपमा काम नलाग्ने भएको छ । सहयोगीहरुले राहत सामाग्री नै उपलब्ध गराए पनि सम्बन्धीत पिडितहरुसम्म पुराउन स्थानीय सरकारलाई सकस भएको छ ।

गत २७ गते आएको अविरल वर्षा सँगैको पहिरोले ९ घर बगाउँदा ११ जना बेपत्ता भएकाहरुलाई अझै भेटिएको छ । पहिरोमा घाइते भएका ४ जनाको सकुशल उद्धार गरिएको थियो । भने पहिरोको उद्धारका क्रममा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको थियो ।