• एम महतो

लहान / सिराहाको कल्याणपुर नगरपालिका प्रमुखका छोरासहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
महोत्तरीको बर्दिवासस्थित आयोगको कार्यालयबाट डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले बुधबार दिउँसो २ बजेतिर कल्याणपुर नगरपालिका प्रमुख सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र ३३ वर्षीय जितेन्द्रकुमार महतोलाई लहानबाट पक्राउ गरेको हो ।

लहानमा सेवाग्राहीसँग कमिसनवापत् नगद पाँच लाख रुपैयाँ बुझेर कल्याणपुर फर्किने क्रममा लहानदेखि करिब पाँच किलोमिटर पश्चिमतिर लहान २२ राजदेवी चोकबाट दुवै जनालाई रकमसहित पक्राउ गरिएको अख्तियारका डिएसपी थापाले जानकारी दिए ।
कल्याणपुर नगरपालिका क्षेत्रमा आरसिसि ढलान सडकको डिपिआर तयार गर्दा छुट्याइएको बजेटमध्ये डिपिआर बनाउन संलग्न फर्मका प्रतिनिधिसँग कमिसनवापत् पाँच लाख रुपैयाँ बुझेर फर्किदै गर्दा नगर प्रमुखका छोरासहित दुवै जना अख्तियारको फन्दामा परेका हुन् । डिपिआर बनाउन कुन फर्म संलग्न थियो र कुन सडकको आरसिसि ढलानको डिपिआर हो भन्ने केही खुलेको छैन । घुस रकमसहित पक्राउ गरिएका दुवै जनालाई आयोगको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

करिब दुई वर्ष पहिले पनि कल्याणपुर नगरका प्रमुख प्रशासकीय अधिकृत बासुदेव यादव र लेखापाल जयराम चौधरी गरी दुई जनालाई अख्तियारले विकास निर्माण सम्बन्धी योजनाबाट उपभोक्तासँग कमिसनवापत् लिएको २० हजार रुपैयाँसहित नगरपालिकाको कार्यालयबाट नै पक्राउ गरेको थियो ।