धनकुटा/ आर्थिक वर्षको अन्त्यसम्ममा पनि भुक्तानी नगरेको भन्दै कोशी पहाडका निर्माण व्यवसायीहरूले प्रदेश लेखा इकाई कार्यालय धनकुटा र शहरी विकास तथा भवन कार्यालय धनकुटामा मङ्गलबार तालाबन्दी गरिदिएका छन् ।

उनीहरूले काम लगाउने शहरी विकास तथा भवन कार्यालय धनकुटा र प्रदेश लेखा इकाई कार्यालय धनकुटाले असार मसान्त सकिन लाग्दा पनि आफूहरूले पाउनु पर्ने रकम भुक्तानी नगरेको भन्दै तालाबन्दी गरिदिएका हुन् । दुवै कार्यालयमा निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष अर्जुन केसी र निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य यज्ञ खतिवडाले ताला लगाइदिएका छन् । उनीहरूले शहरी विकास तथा भवन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्य र आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा इकाई कार्यालय धनकुटाका लेखा नियन्त्रक निशान राईको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

प्रदेश लेखा इकाई कार्यालयका लेखा नियन्त्रक राईले प्रदेश अर्थ मन्त्रालयको मौखिक निर्देशनमा ठेक्काको भुक्तानी रोक्नू भनेकाले रोक्का गरिएको बताए । उनले असार २५ गतेसम्म नियमित भुक्तानी गरि रहेकोमा पछिल्लो समयमा भुक्तानी रोक्नू भन्ने आदेश भएकाले रोक्का गरिएको बताए । उनले कोशी पहाडका धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम गरी ४ जिल्लाको २८ करोड भुक्तानी हुन बाँकी रहेको बताए । उनले उपभोक्ता समितिमार्फत् भएको कामको रकम भने दिइँदै आएको बताए । नियन्त्रक राईले सोमबार र मङ्गलबार २ दिनमा उपभोक्तालाई ७ करोड रकम भुक्तानी गरिसकेको बताए ।

यता शहरी विकास तथा भवन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले कोभिड–१९ ले गर्दा पैसा कम भएको कारण रकम आउन ढिलो भएको बताए । उनले प्रदेश लेखा प्रमुख दामोदर रेग्मीले रकम अभावको कारण ठेक्काको रकम नपठाउनू भन्ने निर्देशन भएकाले रोकिएको बताए । उनले उपभोक्ताको रकम भने नियमित भुक्तानी भइरहेको बताए ।

आचार्यले शहरी विकास कार्यालयबाट मङ्गलबारसम्म जम्मा भएको भुक्तानी दाबीलाई हेर्दा १४ करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको छ । उनले असार मसान्तमा भुक्तानी हुन नसके पनि श्रावणको पहिलो हप्तासम्ममा भुक्तानी हुने स्पष्ट पारेका छन् । ढिलो–चाँडो भुक्तानी हुन्छ भन्दा पनि निर्माण व्यवसायी साथीहरूले काममै बाधा हुने गरी ताला लगाइदिएको आचार्यले गुनासो गरे ।

यता निर्माण व्यवसायीहरूले भने आफूहरूलाई महिनौंदेखि शहरी विकास र प्रदेश लेखा इकाईले झुलाएको आरोप लगाएका छन् । १ महिनादेखि शहरी विकास कार्यालयको ढोकामा ढुुक्दा पनि भुक्तानी नदिएको सङ्खुवाचुली भ्यूटावर हतुवागढी भोजपुरका निर्माण व्यवसायी रामबहादुर श्रेष्ठले बताए । उनले ‘आज हुन्छ, भोलि हुन्छ भन्दै आश देखाएको तर असार मसान्त सकिँदा पनि भुक्तानी नदिएकाले’ ताला लगाउनुपरेको बताए ।

निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष अर्जुन केसीले काम सम्पन्न गरेको योजनाहरूको भुक्तानी सम्झौताअनुसार आर्थिक वर्ष सकिन लाग्दा पनि नदिएकाले ताला लगाउन बाध्य भएको बताए । उनले भुक्तानीको लागि दुवै कार्यालय तयार नभएसम्म ताला नखोल्ने बताए । तालाबन्दी गर्न कोशी पहाडका चारै जिल्लाका निर्माण व्यवसायीहरू उपस्थित थिए ।