धरान / सुनसरी जिल्ला अदालतका न्यायाधिशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको आत्महत्या घटनामा उनकी श्रीमति र प्रेमी तानिएका छन् ।

मृतकका भाईको जाहेरी अनुसार उनीहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । अनुसन्धानको क्रममा मृतककी श्रीमति र छिमेकी विशालको बीचमा प्रेम रहेको खुलेको प्रहरीले जनाएको छ । सोही कारण खतिवडा र दिक्षाको राम्रो सम्बनध नभएको बताइएको थियो । उनीहरुलाई तीन दिन अघि पक्राउ गरिएको हो ।

श्रीमतिसँग फोनमा कुरा गर्दा गदैं अदालत परिसरमा आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका खतिवडाकी श्रीमति दिक्षा र प्रेमी भनिएका विशाल तामाङलाई आत्महत्या दुरुत्साहन मुद्धा चलाइएको छ ।

खतिवडाले गत असार १६ गते आफैलाई पेस्तोलले कञ्चटमा गोली हानेर आत्महत्या गरेका थिए । मोरङको उर्लाबारी २ राजघाट घर भएका खतिवडा न्यायधिश शंकर राईको सुरक्षामा खटिएका थिए ।

आत्महत्या दुरुत्साहन मुद्दामा यस्तो छ कानुन
अपराध संहिताको दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन गर्न दिने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्ने वा गराउन नहुने’ प्रावधान रहेको छ । उपदफा २ मा कसुर गर्ने व्यक्तिलाई ५ बर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान रहेको छ ।