ब्लाष्टखबर ।  नेपालमा पछिल्लाे  दुई दिनमाथप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । जसमा काठमाण्डाै महानगरपालिका १० का वर्ष ६० का पुरूषकाे असार २६ गते मृत्यु भएकाे उनले बताएका छन् ।

त्यस्तै,  सिन्दुपाल्चाेक जिल्ला पाचपाेखारीका  ४५ वर्षीय पुरूष र काठमाण्डाै जिल्ला गाेकर्णेश्वरका नगरपालिका ४ का ५४ वर्षिय पुरूषकाे असार २५ उपचारकाे क्रममा मृत्यु भएकाे डा. गौतमले बताएका छन् । यससंगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ । 

पछिल्लाे २४ घण्टामा नेपालमा ७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ  । 

आज ४ सय ३१ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ८ हजार ४ सय ४२ जना पुगेकाे  डा. गौतमले जनाएका छन् ।