• मिकाइल आलम 
भण्टाबारी । जिल्ला प्रहरी कार्यालय सुनसरीले थालेको लागूऔषध बिरुद्धको स्वीप अपरेशन अन्तर्गत सात जनालाई पक्राउ परेका छन् । लागूऔषधबिरुद्धको स्वीप अपरेशन अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर सरोज खनालको नेतृत्वको प्रहरी टोलीले एकहप्ताको अवधिमा उनीहरूलाई पक्राउ गरेको बताइएको छ् । लागूऔषधको कारोबारमा सक्रिय ठूलो संगठित गिरोहलाई पक्राउ गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै सुनसरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
 
 पक्राउ परेका संगठित गिरोहको नेटवर्क मूख्यत सीमावर्ती कोशी गाउँपालिकाको हरिपुर,भण्टाबारी,लौकहीक्षेत्र हुदै बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, चकरघट्टी चतरा, सोही नाका हुँदै उदयपुरका केही इलाकाहरुमा सकृय रहेको सुनसरी प्रहरीको भनाइ छ । प्रहरीले इटहरी,धरान तथा सप्तरी जिल्लामा समेत सक्रिय रहेका लागूऔषध कारोबारलाई नियन्त्रण लिन सफल भएको जनाएको छ ।
पक्राउ परेका सात जना नै लागु औषध कारोबारी रहेको प्रारिम्भक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ् । लागूऔषधसहित पक्राउ पर्नेहरुमा  सुनसरीको कोशी गाउँपालिकाका २९ वर्षिय पंकज यादव, भारत सुपैल जिल्ला ग्राम पंचायत बिरपुर १ घर भएका २१ वर्षिय शिबु भनिने राकेशकुमार मण्डल, कोशी गाँउपालिका वार्ड नं ६ श्रीपुर घर भएका १९ वर्षिय सुनिल मुखिया,  कोशी गाँउपालिका वडा न. ६ का बीरेन् मरवैता यादव, बराहाक्षेत्र नगरपालिाका १ चतराका ४७ वर्षिय राजु शर्मा , कोशी गाउँपालीका वार्ड नम्बर ६ का सुनिलकुमार यादव र  वराहाक्षेत्र नपा ९ प्रकाशपुरका ३७ वर्षिय खेमप्रसाद लुईटेल रहेका छन्  ।
उनीहरुको साथबाट विभिन्न विभिन्न प्रकारका लागूऔषध तथा सामानहरु बरामद गरिएको सुनसरीका एसपी कमल थापा बताउँछन् । सुनसरी आएपछिको  आफ्नो दुईमहिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै एसपी थापाले लागूऔषधमा डाइलेक्स डि.सी. ३२६ बोतल र स्पास्मोप्रमोक्सिबन १८७२  क्याप्सुल बरामद गरेको बताए । उनीहरुको साथबाट को १० प ९३३२ नं. को निलो रंगको पल्सर मोटर साईकल, को २४ प ५४८५ नं. को कालो रंगको ग्लाईडेटर मोटरसाईकल र आठ थान मोवाईल समेत बरामद गरेको उनले बताए ।
 
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार कोशी कटान दक्षिणबाट उतरतर्फ जादै गरेको अवस्थामा पक्राउ परेका मुखियाको साथमा लागूऔषध डाईलेक्स डि.सी.नामक १०० एम एल लेखिएको २० बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको १२ पत्तामा २८८ वटा, भारत सुपौल जिल्ला बिरपुर पंचायत वडा नं. १ बस्ने राकेश कुमार मण्डल (बोरा बोक्ने), निजसगै आएका निजकै साथी जिल्ला सुनसरी कोशी गा.पा.वडा नं. ६ बस्ने सुनिल कुमार यादव र बिरेन् मरदैता डाईलेक्स डि.सि.१०० एम एल लेखिएको ९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको १४४० वटा क्याप्सुल फेला पारेको छ । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गर अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।