धरान  / कोरोना भाइरसको संक्रमणबाट मृत्यु र संक्रमितको संख्या दिनदिनै बढेको बेला धरानमा माक्स नलगाई हिडडुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । शैक्षिक संस्था, सार्वजनिक सवारी साधन, होटल रेस्टुरा बाहेक लकडाउनमा अरु गतिविधि बढेसंगै बजार क्षेत्रमा मानिसको भिड हुन थालेपछि प्रहरीले मास्क नलगाई हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको हो ।

धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरीले दुइदिनमा करिव २ सय जनालाई नियन्त्रणमा लिएर कारवाही स्वरुप दुइ घण्टा उभ्याएर घर पठाउने गरेको छ । विहीबार मात्र प्रहरीले ९५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरिक्षक हेम लिङ्देनले बताए ।

प्रसनी लिङ्देनले भने, ‘विश्वव्यापी कोरोना महामारी चलिरहेको छ । लकडाउन छ । विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी र मास्क अनियार्य भनेर प्रोटोकल नै बनाइसकेको छ । तै पनि मानिसहरु लपार्वाही गरिरहेछन् । त्यस्ता लापर्वाही गर्नेलाई बाटैबाट नियन्त्रणमा लिएर वडा कार्यालयमा ल्याई कोरोना क्लास दिने र मास्क अनिबार्य लगाएर हिड्न भनेर सम्झाएर घर पठाउने गरेका छौं ।’ गृहमन्त्रालयको निर्देशन अनुसार सुनसरी जिल्ला प्रशासनले शुक्रबार मातहतका निकायमा मास्क नलगाई हिड्नेलाई कारवाही गर्न निर्देशन दिएपछि धरानमा कडाई गर्न थालेको प्रसनी लिङ्देनले बताए ।

नियन्त्रणमा लिइएका अधिकांसले घरदेखि बाहिर निस्कदा मास्क लगाउन विर्सेको प्रतिक्रिया दिने गरेबाट कोरोना माहामारीप्रति अझै संवेदनशील हुन नसकेको देखिएको छ । सर्वसाधारणमा कोरोनाको त्रास भएपनि लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय, वैंक, पसल, अस्पतालहरुमा सामाजिक दुरी कायम नगरी माक्स विना पुग्नेहरुको संख्या अनगिन्ती देखिएको प्रसनी लिङ्देनले बताए ।