उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आरोपितहरूलाई नियन्त्रणमा लिएको छ ।
विभिन्न मुद्दाको फैसलापछि फरार रहेका चार जनालाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार चौदण्डीगढी र बेलका नगरपालिकाबाट इलाका प्रहरी कार्यालय बेल्टार र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

२०७३ पुस १३ गतेदेखि जालसाजी मुद्दामा फरार चौदण्डीगढी नगरपालिका–६ का ५६ वर्षीय मनबहादुर राउत, २०७३ वैशाख १६ गतेदेखि सार्वजनिक अपराध मुद्दाका आरोपित सोही नगरपालिका–४ का २६ वर्षीय मनबहादुर राई र वन मुद्दामा फरार बेलका नगरपालिका–३ का ५० वर्षीय दीपनारायण चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका रौतामाई गाउँपालिका–६ का अर्जुन बस्नेतलाई पनि पक्राउ गरिएको छ । उनीमाथि २०७६ साउन ९ गते एक महिलालाई करणी गरेको आरोप लागेको छ । आरोप लागेपश्चात् उनी फरार रहेका थिए ।

लुकिछिपी बसिरहेको अवस्थामा शनिबार बस्नेतलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई बेलका नगरपालिका–३ रातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका बस्नेतलाई आइतबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका उदयपुरले जनाएको छ ।