• मिकाइल आलम

भण्टाबारी

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले सीमामा सुरक्षाकर्मी बढे पनि तस्करी हुने क्रम भने रोकिएको छैन । विशेष गरेर जिल्लाको दक्षिणवर्ती नाकाबाट पछिल्लो समय तस्करीको क्रम बढेको हो । भारतसँगको खुल्ला सीमानाका कारण विभिन्न प्रकारका लागूऔषध, गाँजासँगै मदिराको बढ्दो तस्करी सुनसरी प्रहरीको टाउको दुखाइको विषय बन्दै गएको छ । पछिल्ला केही महिनायता सुनसरीमा खुला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्नका लागि सुनसरी प्रहरीलाई चुनौती बढेको देखिन्छ ।

भारतको विहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएपछि विहारका नागरिकहरू मदिरा सेवन गर्न लकडाउनअघिसम्म जिल्लाको सीमावर्ती बजारमा आउने गरे पनि अहिले सीमा सिल हुँदा आउन पाएका छैनन् । जसले गर्दा भारतीय बजारमा मदिराको माग बढ्दो क्रममा रहेकोले सुनसरीका विभिन्न नाकाबाट तस्करी बढेको स्रोतको भनाइ छ । सुनसरीका सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले सीमा सिललाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरेपछि ठूलो परिमाणमा लागूऔषध र गाँजाको कारोबारी पक्राउ परे पनि खुला सीमाको कारण तस्करी भइरहेको पाइएको छ ।
यसरी हुन्छ तस्करी
लकडाउनको समयमा सीमावर्ती क्षेत्रका मदिरा पसल सञ्चालकहरूले दिनमा स्टक गरेर मदिरा राख्ने र रातको समयमा सीमा कटाउने गरेका छन् । जिल्लाको भण्टाबारी, श्रीपुर, कोशी ब्यारेज क्षेत्रबाट बढी मात्रामा विभिन्न ब्राण्डका मदिरा भारततर्फ तस्करी हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए ।

भण्टाबारीको पूर्वी टोलमा रहेको नाका हुँदै शम्भु यादव र चारकुनै नाकाको नेपाली टोलहुँदै नारायण र सञ्जय कापैरलगायतले नेपालबाट मदिरा तस्करी गर्दै आएका छन् भने भारतीय बजार भीमनगरबाट नेपालतर्फ सुर्ती, रजनीगन्धा तथा अन्य किराना सामान अवैध रूपमा भिœयाउने गरेका छन् । यसैगरी कोशी ब्यारेजको पूर्वी नहर हुँदै जीवछ मण्डल, बुधनसहितले भारततर्फ मदिरा तस्करी गराउँदै आएका छन् भने भारतबाट कोशी ब्यारेजका सन्तोष नायकले दैनिक रूपमा लाखौं मूल्य बराबरको विभिन्न प्रकारका लत्ताकपडाका साथै किराना सामान रातको समयमा अवैध रूपमा ल्याउने गरेको स्रोत बताउँछ ।

सशस्त्र प्रहरी बल भण्टाबारीले नायकको घरमा केही महिना अगाडि छापा मार्दा हजारौं मूल्य बराबरको तस्करीका विभिन्न सामान बरामद गरेको थियो । त्यसैगरी जिल्लाको श्रीपुरको यादव टोल हुँदै मदिरा तस्करी हुने क्रम बढेको स्थानीय बताउँछन् । सुरक्षाकर्मीकै मिलेमतोमा त्यसरी तस्करी हुने गरेको स्रोतको भनाइ छ । सीमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतो बिना त्यसरी तस्करी गर्न सम्भव नहुने नाम उल्लेख नगर्न आग्रह गर्दै एक स्थानीयले जानकारी दिए । यता सीमामा तैनाथ सुरक्षाकर्मीले भने कुनै पनि प्रकारको तस्करीमा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । सीमा सुरक्षा बल सुनसरीले चालू आर्थिक वर्षको हालसम्म २ करोडबढीका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको बताएको छ । सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठका अनुसार सशस्त्र प्रहरी मातहतका विभिन्न बिओपीका साथै जिल्लामा खटिएका सशस्त्र प्रहरीले ०७६ साउनदेखि यही असारको २१ गतेसम्म २ करोड २६ लाख ६६ हजार ६ सय ३ रुपैयाँ बराबरको मदिरा, लत्ताकपडा, सुर्तीजन्य पदार्थ र अन्य सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।

केही समययता प्रहरीले भन्सारमा सुर्ती बुझाउने क्रम बढेको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज मुद्दा शाखाका लक्ष्मण तामाङ बताउँछन् । लकडाउनअघिसम्म भारतीय कुखुरा बढी मात्रामा बुझाउने गरे पनि पछिल्लो समय सुर्तीका साथै मदिरा बुझाउने क्रम बढेको उनको भनाइ छ । भारतीय बजारबाट तस्करी गरी नेपाल भिœयाएको ३६ बोरा सुर्तीसहित गाडी इटहरीबाट केही दिनअगाडि प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो । त्यसैगरी सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रबाट भारततर्फ अटोमा लैजाँदै गरेको गाँजासहित एकजना पक्राउ परेका थिए । सीमा क्षेत्रका स्थानीयवासीले अवैधरूपमा हुँदै आएको रक्सीको तस्करी रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा मजबुुत गर्न आग्रह गरेका छन् ।