• धनबहादुर पुरी

इटहरी / इटहरी–९ को रिभरसाइड रिसोर्टकी सञ्चालिका यौन धन्दा गराएको आरोपमा शनिबार पक्राउ परेकी छन् । हीरामाया भनिने इन्दिरा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी मानव बेचविखन सम्बन्धी मुद्दा दायर गरेको छ ।

यौन धन्दा गराएको आरोपमा प्रहरीले उनीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । सञ्चालिका श्रेष्ठले युवतीहरूलाई यौन धन्दामा संलग्न गराएको प्रहरीको निष्कर्ष छ । ग्राहकहरूसँग मोटो रकम लिई युवतीलाई यौन धन्दामा संलग्न गराएको भन्दै मानव बेचविखनमा मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । केही महिनाअगाडि मात्रै इटहरी–६ को हिमगङ्गा होटल एण्ड लजबाट पनि पाँचथरका बिनु सुब्बा र बर्दीबासका सरोज कार्कीलाई पक्राउ गरी मानव बेचविखन विरुद्ध मुद्दा दायर गरेको थियो । युवतीहरूलाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा उनीहरूमाथि मानव बेचविखनको मुद्दा दायर गरेको इप्रका इटहरीले जनाएको छ ।
इटहरीमा आर्थिक वर्ष २०७०/०७१ यता २० वटा होटलविरुद्ध मानव बेचविखनको मुद्दा दायर भएको छ । इटहरीका लागि नौलो नरहेको यौन धन्दालाई निस्तेज पार्दै आए पनि त्यसमा संलग्नहरूले फरक–फरक उपाय अपनाउँदा यौन धन्दा प्रहरीको नियन्त्रण बाहिर हुने गरेको छ । पछिल्लो समय इटहरी क्षेत्रमा यौन धन्दा गराउनेहरू सक्रिय भएको भन्दै प्रहरीले निगरानी बढाएको छ ।

इटहरी यौन धन्दाकै कारण बदनाम हुँदै आएको थियो तर बीचमा प्रहरी सक्रिय भएपछि यौन धन्दामा केही कमी आए पनि फेरि उस्तै गरी सक्रिय भएको पाइएपछि कारबाही शुरु गरिएको इप्रका इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । ‘इटहरीको यौन धन्दा रोक्न अधिकतम् प्रयास गरेका छौं’–उनले भने ।

यौन धन्दा हुने होटलहरू
प्रहरीको सूचीमा इटहरीका २० वटा होटलहरू यौन धन्दामा सक्रिय रहेको उल्लेख गरिएको छ । ती होटलमाथि प्रहरीले निगरानी बढाएको छ । इटहरीको ओम गजल होटल यौन धन्दा गराएको कारण बदनाम थियो । प्रहरीले सञ्चालिकालाई पक्राउ गरेपछि हाल त्यो होटल बन्द छ । प्रहरीका अनुसार इटहरी–८ को भेटघाट होटल, फेरि भेटौंला रेष्टुरेण्ट, बागमारे होटल, पारिजात होटल, सपना हरिल होटल, कामाख्या गेष्ट हाउस, वर्षा होटल, न्यू बसपार्क होटल, लुम्बिनी होटल, सुविधा गेष्ट हाउस, रोयल रिसोर्ट होटल, गणपति होटल, द सेवा होटल, नम्रता होटल एण्ड लज, सेवा फेमेली होटल एण्ड खाजा घर, दियालो होटलमा यौन धन्दा हुने अनुमान छ । जसमा प्रहरीले निगरानी बढाएको इप्रका इटहरीका डिएसपी भण्डारीले बताए ।

यौन धन्दा गराउनेमा महिला व्यवसायी नै सक्रिय
इटहरीमा यौन धन्दा गराउनेमा पुरुष व्यवसायीको तुलनामा महिला व्यवसायी नै सक्रिय रहेको पाइएको छ । इटहरीमा यौन धन्दा गराउने होटलहरू बढी महिला नै सञ्चालक रहेका छन् । इटहरीमा यौन धन्दाको आरोपमा मुद्दा खेपेर बाहिर आएका महिला पुनः त्यही काममा सक्रिय हुने गरेको प्रहरी बताउँछ ।
इटहरीमा वेश्यावृत्ति गराएको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका महिला अहिले इटहरी क्षेत्रमा सक्रिय भएको प्रहरी बताउँछ । ‘इटहरीमा अधिकांश यौन धन्दामा संलग्न गराउनेमा महिला नै धेरै देखियो’ डिएसपी भण्डारीले भने, ‘कतिपय फेरि सोही व्यवसायमा फर्केका छन् भने केही होटल व्यवसायबाटै विस्थापित भएका छन् ।’ इटहरी क्षेत्रमा पुरुष व्यवसायीहरूभन्दा महिला व्यवसायीहरू यौन धन्दा गराउनमा सक्रिय रहेको प्रहरीको तथ्याङ्क छ ।

भारतीय ग्राहक धेरै
इटहरीमा साना–ठूला गरी १२ सय होटल सञ्चालित छन् । यौन धन्दा गराउने व्यवसायीको सम्पर्कमा नेपाली ग्राहकभन्दा भारतीय ग्राहक धेरै हुने गरेको प्रहरीले बताएको छ । इटहरीमा यौन धन्दा डरलाग्दो गरी बढेपछि पाँच वर्ष अघिदेखि प्रहरीले क्याबिन(रेष्टुराँसँगै होटलहरूमा कडाइ गर्दै आएको छ । प्रहरी प्रशासनले पूरै कडाइ गरे पनि अनेक उपाय लगाएर यौन धन्दा गर्ने गरेको पाइएको छ । यौन व्यवसायीलाई श्रीमतीको बहाना गरी यौन धन्दा चलाउने नयाँ जुक्ति लगाउने गरेको पनि देखिएको छ । भारतीय ग्राहकलाई बढी प्राथमिकतामा राखेर यौन धन्दा सञ्चालन गर्ने गरेको समेत खुलेको छ ।