ताप्लेजुङ । बस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका ८ दोखु खोदम्वूको बस्ती जोखिममा परेको छ । बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि सो बस्तीका पाँच परिवार घर छोडेर अर्को गाउँमा बसेका थिए ।
स्थानीय सुर्यमान तामाङका अनुसार लाखवहादुर मोक्तान, तारा तामाङ, बिर्खबहादुर तामाङ, पञ्चबहादुर सुनुवार र कमल मगरको परिवार पानीट्यांकीमा सरेर बसेका हुन् । पहिरो बिरबहादुर तामाङको घरमाथिसम्म झरेको छ । बस्ती माथिको पहरा फुटेर झर्दा बीचमा रहेको सडकमा ठुल्ठुला ढुङ्गा अल्झिएको छ ।
ढुङ्गा त्यहाँबाट झरे यी पाँचघर मुनीका अन्य परिवार पनि जोखिममा पर्नेछन्। सडकको माटो कमसल भएकाले ढुङ्गा नझर्ला भन्न सक्ने अवस्था नरहेको तामाङले बताए । करिब एक सय मिटर लामो पहिरो वीरबहादुरको बारीसम्मै पुगेको छ ।
पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूल्ठुला ढुङ्गा भएकाले जोखिम रहेको हो । यही स्थानमा चार वर्षअघि सडकको भल घरमा पस्दा नाबालकसहितको मृत्यु भएको थियो ।