धरान । धरान–१४ की मिर्गौला रोगी सपना लिम्बूलाई शनिबार आर्थिक सहयोग गरिएको छ । पीडित सपना लिम्बू बचाउ अभियान समितिले संकलन गरेको ४ लाख २५ हजार ६ सय रुपैयाँ नगद शनिबार नेपाल पत्रकार महासंघ सुनसरीमा सहयोग गरेको हो ।
हालसम्म अभियानले ९ लाख ८३ हजार ५४० रुपैयाँ संकलन गरेर सहयोग गरिसकेको धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले जानकारी दिए । २३ वर्षीया लिम्बूको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चिकित्सकले मिर्गौला फेर्नुपर्ने अवस्था रहेको जानकारी दिएपछि उनलाई बचाउन अभियान थालिएको हो ।
लिम्बूको श्रीमान् सामान्य ज्याला मजदुरी गर्दै परिवार पाल्दै आएका थिए । विपन्नताका कारण उपचारमा कठिनाइ हुने देखिएपछि उपचारमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष लिम्बूले बताए । विभिन्न संघसंस्था तथा प्रतिनिधिहरूसँग सहयोग संकलन गरिरहेको जनाइएको छ ।