• मिकाइल आलम

भण्टाबारी/ लकडाउनको समयमा समेत सुनसरीका विभिन्न सीमा नाकाहरूबाट तस्करी हुने गरेको पाइएको छ । भारतबाट कोरोना सङ्क्रमित व्यक्ति भित्रिन नदिन जिल्लाका सीमावर्ती क्षेत्रहरूमा पहिलाको तुलनामा सुरक्षाकर्मी बढाए पनि तस्करी रोकिएको छैन ।

स्रोतका अनुसार सुनसरीको वसन्तपुर, घुस्की, हरिनगर, लाही, कोशी ब्यारेजसहितका नाकाबाट दैनिक रूपमा भन्सार छलेर लाखौंको सामान भारतबाट भित्रिने गरेको छ । लकडाउनको समयमा दसगजा क्षेत्रमा चोरी–पैठारी नियन्त्रण तथा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा त्यसरी तस्करी हुने गरेको स्रोतको दाबी छ ।

भारतबाट लकडाउनको समयमा विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरू अवैध रूपमा भित्रिने गरेको छ भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ ।

लकडाउनको अवधिमा समेत भारततर्फ तस्करी गराउँदै गर्दा सुनसरीका विभिन्न स्थानबाट सुरक्षाकर्मीले लाखौं मूल्य बराबरको मदिरा नियन्त्रणमा लिएको बताइएको छ । केही समयअगाडि सुनसरीको लाही क्षेत्रबाट खाद्यान्न सामग्री तथा तरकारी ढुवानी लेखिएको को.१ च ९१५८ नम्बरको म्याजिकमा नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल लाहीबाट खटिएको टोलीले म्याजिकसहित मदिरा नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी लकडाउनकै समयमा सुनसरी हरिनगर गाउँपालिका वडानम्बर ५ स्थित नेपाल–भारत दशगजा क्षेत्रबाट नेपाल प्रहरीले मोटरसाइकलसहित रक्सी बरामद गरेको छ । नेपालबाट भारततर्फ को.४ प ६०११ र को.३ प ७०८२ नम्बरको मोटरसाइकलमा २–२ बोराका दरले रक्सी लोड गरी लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । तस्करी गराउने क्रममा अवरोध गर्दा घुस्की र कप्तानगञ्ज नाकामा स्थानीय र सशस्त्र प्रहरीबीच विवादसमेत भएको थियो ।

सशस्त्र प्रहरीबाट कुटिए किसान
अनावश्यक रूपमा सशस्त्र प्रहरीले किसानलाई कुटपिट गरेको भन्दै सीमावर्ती क्षेत्रका स्थानीय आक्रोसित भएका छन् । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ज्यादती बढेको गुनासो गर्दै सुनसरीका किसानहरूले त्यस्तो आरोप लगाएका हुन् । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रको सीमामा बसोबास गर्ने स्थानीयले आफूहरू प्रहरीको ज्यादतीबाट पीडित बनेको बताए । ‘कोरोना भाइरसको भन्दा सशस्त्र प्रहरीको दमन र कुटपिटबाट हामी पीडित बनेका छौं’–स्थानीय रामेश्वर मेहताले गुनासो गर्दै भने ।

सशस्त्र प्रहरीको नजराना असुली धन्दा, किसानलाई मकै उठाउन गरेको अवरोध र अनावश्यक कुटपिट तथा यातना दिने घटनाले त्रसित बनेको देवानगञ्ज गाउँपालिका–३ र ४ कप्तानगञ्जका गाउँलेहरूको गुनासो रहेको छ । सीमा नाकामा रहेका सशस्त्र प्रहरीले लकडाउनको मौकामा नेपाली नागरिकलाई सीमामा आफैले उत्पादन गरेको मकै भिœयाउन अवरोध गरेको र उठाउने नाममा प्रतिट्याक्टर एक सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म नजराना उठाउने गरेको देवानगञ्ज गाउँपालिकाका स्थानीयहरूले गुनासो गरेका छन् ।

देवानगञ्ज गाउँपालिका–३ का ३६ वर्षीय अरविन्दकुमार यादवले आफूलाई सशस्त्र प्रहरी जवान कृष्ण भुजेलले अनावश्यक तवरले कुटेको गुनासो गरेका छन् । खेतमा मकै उठाउन गएको बेला दुई हप्ताअगाडि नजराना नदिई मकै लान नपाउने भन्दै गालीगलौज गरेर कुटेको यादवको आरोप छ ।

सामान्य किसानदेखि भारतीय नागरिकको मिलेमतोमा तस्करी बढेको विषयमा केही समयअगाडि कुरा उठाएको हुँदा आफू सशस्त्र प्रहरीबाट कुटिन पुगेको उनको आरोप छ । सशस्त्र प्रहरी जवानको कुटाइबाट यादवको हात र खुट्टामा निलडाम बसेको थियो । यता सशस्त्र प्रहरी बल बिओपी कप्तानगञ्जका इन्स्पेक्टर पशुपति पुरीले समेत घटना यथार्थ भए पनि आरोप लगाएको जस्तो केही नभएको प्रतिक्रिया दिए ।

तस्करी गर्न नपाएपछि केही व्यक्तिले गलत आरोप लगाउने गरेको उनको भनाइ छ । सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर सुनसरीका सीमा नाकाहरूबाट तस्करी हुँदै आएकोबारेमा व्यापक गुनासो आए पनि यसबारे सम्बन्धित निकाय मौन छन् । खासगरी पछिल्लो समयमा सुनसरीको वसन्तपुर, घुस्की र लाही नाकाबाट व्यापक रूपमा तस्करी बढेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए ।

सीमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा सीमावर्ती क्षेत्रका केही जनप्रतिनिधिहरूले नै तस्करी गर्ने गरेको ती व्यक्तिको भनाइ छ । यता सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले सीमावर्ती क्षेत्रबाट लकडाउनको समयमा तस्करी हुने गरेको सम्बन्धमा गुनासो आएको बताउँदै तस्करी नियन्त्रण गर्न आफूहरू लागिपरेको बताएका छन् । तस्करीमा सुरक्षाकर्मीको संलनता पाइए कारबाही गर्ने उनले दाबी गरे ।