लक्ष्मीमार्ग । लामो समय देखि भत्किएको अवस्थामा रहेको पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैचामा पर्ने राजमार्गमा सडक डिभिजन कार्यालय मोरङले मर्मत सम्भार गर्ने कार्यलाई अगाडि बढाएको छ । तर सडक मर्मत गर्दा निर्माण कम्पनीले ध्यान नदिदा सडकमा आवतजावत गर्न सवारीसाधन तथा सर्वसाधारणलाई समस्या परेको छ ।
सुन्दरदुलारी उधोग वाणिज्य संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सुन्दरहरैचा नगरपालिकाको ५ र ४ को सिमानाको रुपमा रहेको पुर्व पश्चिम लोकमार्गको कृष्ण आयल प्रा. ली. देखि बासबारी सम्म करिब ३०० मिटर सडक खण्ड सडक डिभिजन कार्यालय मोरङले मर्मत सम्भार गर्ने कार्यको लागि मेसिन प्रयोग गरि बाटो भत्काई सकेको अवस्था रहेकोमा भत्काइएको ढुङ्गा , माटो , कालोपत्रेको कच्चापदार्थले सडकको दुवै तर्फ भरिन गई वर्षाताको पानी सडकमै जम्मा भएकोले सडक अवरुद्द हुन गई दुर्घटना निम्ताउन सक्ने सम्भावना भएकोले उक्त कच्चापदार्थ हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख छ।
संघका अध्यक्ष कार्कीले व्यस्त राजमार्गको सडक मर्मत गर्दा सडक डाइभर्सन गरि बनाइनु पर्नेमा डाइभर्सननै नबनाई सडक मर्मत गर्दा सडक अवरुद्द हुने , दुर्घटना हुन सक्ने र सडकको अवस्था पनि कमजोर हुने हुदा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले ध्यान दिनुपर्ने बताउछन् ।