• मिकाइल आलम

भण्टाबारी / लकडाउनको शुरुवाती दिनमा एक–दुईजना कोरोना सङ्क्रमित भेटिँदा त्राससँगै चर्चा हुन्थ्यो । तर, पछिल्लो समय कोरोना सङ्क्रमित भेटिनु सामान्यजस्तै भइसक्यो । दिनहुँजसो सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहे पनि यसलाई सर्वसाधारणले सामान्य रूपमा लिन थालेका छन् ।

जोखिम बढेको छ तर लकडाउन केही खुकुलो भएसँगै सर्वसाधारणले सावधानी र सतर्कता अपनाएको पाइँदैन । परीक्षणको दायरा बढाएपछि नेपालमा हालसम्म ११ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा बिहीबारसम्म ७५ जना सङ्क्रमित रहेकोमा शुक्रबार १० जना थपिएका छन् ।

कोशी गाउँपालिकाको क्वारेण्टिनमा तीनजना महिलासहित सात नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरू सबै भारतबाट आएका हुन् । सङ्क्रमण पुष्टि हुनेमा कोशी गाउँपालिका वडानम्बर १ लौकहीका तीनजना महिला र तीनजना पुरुष रहेका छन् भने कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारीका एकजना पुरुष रहेका छन् । यसैगरी शुक्रबार नै सुनसरीको देवानगञ्ज गाउँपालिकाको क्वारेण्टिनमा बसेका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूलाई सुनसरी र मोरङका विभिन्न स्थानमा थप उपचारका लागि पठाइएको बताइएको छ ।

५९ जना निको भए
सुनसरीमा हालसम्म ३ हजार १ सय ६९ जनाको पिसिआर परीक्षण गरेकोमा ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारसम्म ५९ जना निको भएर घर फर्केका छन् भने २६ जना आइसोलेसनमा छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यसरी सङ्क्रमित पुष्टि हुनेमा ६९ जना पुरुष र १६ जना महिला छन् । सुनसरीमा आरडिटी परीक्षण २ हजार ३९ जनाको गरिएकोमा १९ जना पुरुषमा मात्र पोजेटिभ पाइएको छ भने अरू सबै रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारसम्म १ हजार ६ सय ९५ जना पुरुष र ३ सय ४४ जना महिलामा आरडिटी परीक्षण गरेकोमा १९ जना पुरुषमा मात्र रिपोर्ट पोजेटिभ पाइएको बताइएको छ ।

सुनसरीमा कोरोना सङ्क्रमण पोजेटिभ पाइएकामध्ये धेरैजसोमा कुनै लक्षण देखिएन । ‘अधिकांशमा लक्षण देखिएन’ उनले भनिन्, ‘स्वास्थ्य अवस्था सामान्य देखियो । तर, पिसिआर परीक्षण गर्दा पोजेटिभ पाइयो ।’ समुदायस्तर सङ्क्रमण नभेटिए पनि सर्वसाधारणको लापरबाहीले देखिने सम्भावना बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउँछन् । ‘दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दैछ, जसले जोखिम बढाएको छ’ उनले भने, ‘तर, सर्वसाधारणले खासै सतर्कता र सावधानी अपनाएको पाइँदैन ।’ अतिआवश्यक कामकाजबाहेक अन्य समयमा घरबाहिर न निस्कन प्रसाईंले आग्रह गरे ।

४ सय ८० जना क्वारेण्टिनमा
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबारसम्म विभिन्न स्थानीय तहका क्वारेण्टिन तथा होल्डिङ सेण्टरमा ४ सय ८० जना बसेका छन् । तीमध्ये ३ सय ७१ जना पुरुष र १ सय ९ जना महिला छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सइ शिवकुमार शर्माका अनुसार ४ सय ८० जना क्वारेण्टिनमा बसेको र हालसम्म २ हजार ७० जना क्वारेण्टिनमा बसेर घर फर्केका छन् । जसमध्ये १ हजार ७ सय ९७ जना पुरुष र २ सय ७३ जना महिला छन् ।
सुनसरीका १२ स्थानीय तहमा हाल २६ वटा क्वारेण्टिन र २ वटा होल्डिङ सेण्टर चालू अवस्थामा छन् । इटहरीमा १, धरानमा १, रामधुनीमा १, दुहबीमा २, हरिनगरमा १, कोशीमा ६, इनरुवामा ३, बर्जुमा १, गढीमा १, वराहक्षेत्रमा ४, देवानगञ्जमा ३ र भोक्राहा नरसिंहमा २ गरी २६ वटा क्वारेण्टिन चालू अवस्थामा छन् । यसैगरी भोक्राहा नरसिंह र वराहक्षेत्रमा एक–एक गरी दुईवटा होल्डिङ सेण्टरसमेत चालू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।