धरान / कोरोना सङ्क्रमित आमाको नौ महिने शिशुमा सङ्क्रमण नभएको पाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको क्वारेण्टिनमा राखिएका आमा र नौ महिने शिशुको स्वाब परीक्षण गर्दा शुक्रबार आमाको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ र शिशुको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना सङ्क्रमित आमाको काखमा खेल्दै दूध खाने नौमहिने शिशुमा सङ्क्रमण नदेखिनुको कारणबारे भने थप अनुन्धान बिना यसै भन्न नसकिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक माइक्रोवायोलोजिष्ट चिकित्सकले बताए ।

 कोभिड–१९ आफैमा नयाँ भाइरस भएको र यसको बारेमा जानकारी कमैमात्र प्राप्त भएकाले सङ्क्रमित आमाबाट नौ महिने शिशुमा कोरोना भाइरस किन सरेन भन्ने प्रश्नको उत्तर प्राप्त गर्नका लागि अझै समय लाग्ने भएको छ । सामान्यतया सङ्क्रमितले छुँदा, हाच्छिउँ गर्दा भाइरस सर्छ भन्ने मान्यता छ । तर कोरोना सङ्क्रमित आमाकै दूध खाएर काखमा खेल्ने नौ महिने शिशुमा पिसिआर जाँच गर्दा कोरोना भाइरस नदेखिएपछि अनुसन्धानको नयाँ विषय थपिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर मोलिकुलर पिसिआर प्रविधिमा विद्यावारिधि गरेका डा. नारायण भट्टराईले भने, ‘यसबारे थप अनुसन्धान नगरी यसै भन्न सकिन्न ।

कि सङ्क्रमित आमासँग भएको कोरोना भाइरस सिद्धिन लागेकाले सर्न नसकेको हुन पनि सक्छ या त बच्चालाई सङ्क्रमण भएर पनि निको भएकाले पिसिआर जाँचमा नदेखिएको हुनसक्छ, या त बच्चामा कोरोना भाइरसको सङ्क्रमण भर्खरै शुरु भएको हुन सक्छ ।’ उनका अनुसार रोगप्रधिरोधात्मक क्षमता आमामा भन्दा बच्चामा कम हुन्छ । किन यस्तो भयो भनेर पत्ता लगाउन थप अनुसन्धान र पिसिआर जाँचका अरू विधि अपनाउनु पर्ने हुन्छ ।  

यसैबीच सुनसरीमा शुक्रबार एकै दिन थप १० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८५ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन सिर्जना लिङ्थेपले बताइन् । उनका अनुसार कोशी अस्पतालमा पिसिआर जाँच गर्दा सुनसरीमा थप नयाँ १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार कोशी गाउँपालिकाको क्वारेण्टिनमा रहेकामध्ये ४० जनाको स्वाब परीक्षण गर्दा तीन महिलासहित ८ जनामा र देवानगञ्ज गाउँपालिकाको क्वारेण्टिनमा रहेकामध्ये ३१ जनाको स्वाब परीक्षण गर्दा एक महिला र एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । पोजिटीभ दखिएकाहरूको उमेर नौ वर्षदेखि ४५ वर्षका छन् । उनीहरू सबै भारतबाट असारको पहिलो साता नेपाल फर्केकाहरू हुन् ।   कोरोना पोजेटिभ देखिएकामध्ये चारजनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, तीन जनालाई कोशी अस्पताल र पाँच जनालाई सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँको आइसोलेसन सेण्टरमा पठाइएको छ ।