लक्ष्मीमार्ग । मोरङ केराबारीको मध्य भागबाट बग्ने खदम खोलामा पुल बन्न नसक्दा केराबारीका बासिन्दालाई मात्र हैन सिंगो उत्तरी मोरङका बासिन्दा ठुलो समस्यामा परेका छन् ।  हिँउदमा खोला तर्न त्यती गाह्रो नभएपनि वर्षायाममा खदम खोला तर्न सम्भव देखिदैन ।

केराबारी गाँउपालीकाको १० वटा वडा मध्ये ४, ५, ६ र ७ नम्बर वडा खदम खोला पारी पर्छन । जब बर्षायाम सुरु हुन्छ खदम खोलामा पुल बन्ने कुराको धेरै चर्चा हुन्छ । तर वर्षायाम सकिने बित्तिकै फेरी यो कुरा आझेलमा पर्छ । खदम खोलामा पुल बनाउने नारा बनाएर धेरै नेताले चुनाव जितेका छन् । तर नेताहरुले चुनावताका गरेको बाचा पुरा गर्न नसक्दा सर्वसाधरण नागरिकले अनाहकमा खोलामा ज्यान गुमाइरहेका छन् ।

हाटबजार जान होस या गाउँपालिकाको कार्यालयमा जान, खोलामा पुल बन्न नसक्दा वर्षौदेखि स्थानीयले सास्ती खेप्दै आएका हुन् । पहाड र तराईको भूभाग जोड्ने चुरेको काखमा रहेको केराबारी गाउँपालिका व्यापारिक केन्द्रविन्दुको रुपमा लिइन्छ । मदन भण्डारी राजमार्गले छोएको केराबारी जोड्ने खदम खोला वर्षायाम लागेसंगै वारी र पारीका जनताहरुको सम्पर्क टुट्ने गरेको छ ।

वर्षौदेखि खदम खोलामा पुल बन्न नसक्दा स्थानीय कृषकले उत्पादन गरेका सागसब्जि तथा फलफूल समेत नष्ट हुने गरेको छ । दैनिक उपभोग्य वस्तु किनेमेल गर्नका लागि होस या विद्यार्थीहरु अध्ययनका लागि आउजाउ गर्न वर्षायाममा सम्भव छैन । सर्वसाधरण जनतालाई मात्र होइन केराबारी ७ डाँगीबाट दैनिक गाउँपालिकाको कार्यालय जाने गरेका सूचना प्रविधि अधिकृत सुवास सूवेदीलाई पुल नबन्नाले ठुलो समस्या भएको बताउछन् ।

उनले भने ‘खोलामा बाडी कतिखेर आउछ थाहा हुन्न पैदल हिडेर पनि ४० मिनटमा कार्यालय पुग्न सकिन्छ तर बाढी आएको समयमा भने अनेकन दुख र झञ्झट सहनुपरिरहेको’ बताउछन् । केराबारी गाँउपालीकाका अध्यक्ष रोहितबहादुर कार्कीले भने मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने खदम खोला लगायत केराबारीकै अन्य दुईटा खोलामा समेत पुल बन्नको लागी संघिय सरकारबाटै टेण्डर भईसकेको हुनाले चाँडै पुल बन्ने कुरामा ढुक्क रहन केराबारी बासिलाई आग्रह गरेका छन् ।