बीबीसी / नेपालमा अहिले सङ्क्रमितको सङ्ख्या ११,००० नाघेको छ। केही हप्तादेखि सङ्क्रमण पुष्टि हुने दर बढेको छ। अहिलेको कुल सङ्ख्याका आधारमा जोन्स हप्किन्स यूनिभर्सिटीले नेपाललाई ६७ औँ स्थानमा राखेको छ।

कोभिड १९ बारे विवरण निरन्तर अद्यावधिक भइरहने हुँदा त्यो स्थान भने केही तलमाथि भइरहन्छ। गत वर्ष चीनको वुहान प्रान्तबाट सुरु भएको महामारी १८८ देश र क्षेत्रमा फैलिसकेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ।

नेपालसँग सयौँ किलोमिटर लामो खुला सीमा भएको भारत अहिले सर्वाधिक प्रभावित देशमध्ये चौथो स्थानमा छ।

केही हप्तायता नेपालमा प्रत्येक दिन सरदर ५०० जना नयाँ सङ्क्रमित फेला परिरहेका छन्। अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।

नेपालको अवस्था के छ

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी विश्वव्यापी रूपमा तुलना गर्दा धेरै देश फरकफरक अवस्थामा रहेको विषय ख्याल गर्नुपर्ने बताउँछन्।

विश्वका अरू देशसँग तुलना गर्दै उनले भने, कहीँ सङ्क्रमण चरम बिन्दुमा पुगेर घट्न थालेको छ, कहीँ लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको छ । 'हाम्रोमा सङ्क्रमण बढ्दो चरणमा छ। नेपालमा विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको जस्तो देखिन्छ।'

विश्वव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा देखिएको छ।

तेइस लाख ८० हजारभन्दा बढी सङ्क्रमितहरू रहेको अमेरिकामा एक लाख २१ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ। करिब ५४ हजारको मृत्यु भएको ब्रजिलमा १२ लाखको हाराहारीमा सङ्क्रमितहरू छन्।

सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले तेस्रो स्थानमा रुस छ। चीनमा सङ्क्रमण फैलिने क्रम सुस्ताएको छ। सङ्क्रमितको सङ्ख्याका हिसाबले हेर्दा चीन २१ औँ स्थानमा छ।

नेपालमा कति सङ्क्रमित थपिएलान

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सरकारले नेपालमा अगस्ट महिनाको पहिलो हप्तासम्ममा ३० देखि ४० हजार सङ्क्रमित हुने प्रक्षेपण गरेको छ।

त्यसको आधारमा उपचारको तयारी भइरहेको उनी बताउँछन्। 'सङ्ख्या बढी भयो भने रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ,' उनले भने, 'तीस हजारका लागि भने काम भइरहेको छ।]

केही समययता भारतबाट नेपाल फर्किने मानिसको सङ्ख्या घटिरहेको हुँदा अब क्वारन्टीनमा थप ५,००० सङ्क्रमित भेटिन सक्ने सम्भावना भएको उनी बताउँछन्।

ूक्वारन्टीन लगभग खाली हुँदासम्म सङ्क्रमितहरूको सङ्ख्या १७,००० देखि १८,००० पुग्ने देखिन्छ,ू उनले भने।

बुधवार अपराह्णसम्म देशभरि ७८,००० जना भन्दा बढी मानिस क्वारन्टीनमा थिए। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

दक्षिण एशियाको अवस्था के छ

दक्षिण एशियामा मात्रै हेर्ने हो भने सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले नेपाल पाँचौँ स्थानमा छ। चार लाख ५६ हजार भन्दा बढी सङ्क्रमित रहेको भारतमा झन्डै १४,५०० ले ज्यान गुमाएका छन्।

भारतपछि पाकिस्तानमा सङ्क्रमितहरूको सङ्ख्या बढी छ। एक लाख ८८ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको पाकिस्तानमा ३,७०० जनाभन्दा बढीको ज्यान गएको छ।