यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माणको चरणमा छ ।

प्रदेश सरकारले रङ्गशालाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि रङ्गशाला निर्माण अघि बढेको हो । रङ्गशाला निर्माणको लागि गत आर्थिक वर्षमा ८ लाख र चालू आर्थिक वर्षमा २० लाख गरी २८ लाख रुपैयाँ खर्च भएको छ । गाउँपालिकामा सुविधा सम्पन्न रङ्गशाला निर्माण हुन थालेपछि गाउँपालिकावासी हर्षित भएका छन् ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशाला निर्माणको काम उपभोक्ता समितिमार्फत् हुँदै आएको छ । लकडाउनको समयमा पनि योजनाको काम तीव्र गतिमा अघि बढाएको उपभोक्ता समितिका अध्यक्ष पूर्ण मिफोकले बताए । गाउँपालिकाको केन्द्रस्थित यासोक बजारमा निर्माण हुँदै आएको रङ्गशाला निर्माणको लागि पृथ्वी मावि यासोकले १५ रोपनी जग्गा उपलब्ध गराएको छ ।

त्यस्तै स्थानीय नरबहादुर मिफोकले ३२ लाख बराबरको ४ रोपनी र तेजबहादुर लावतीले ४० लाख बराबरको ५ रोपनी जग्गा प्रदान गरेका छन् । उक्त रङ्गशाला १ सय २० मिटर लम्बाइ र ८० मिटर चौडाइको हुनेछ । रङ्गशाला निर्माणको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुँदै आएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।

गाउँपालिकामा निर्माण हुँदै गरेको रङ्गशाला नमूना र ऐतिहासिकतासँग जोडिएकाले निर्माणको कामलाई आगामी वर्षमा पनि निरन्तरता दिने लावतीले बताए । गाउँपालिकाको कुम्मायक–कुस्सायक धार्मिक स्थलमा बन्दै गरेको रङ्गशालाले गाउँपालिकाको खेलकुद विकासको क्षेत्रमा ठूलो महŒव राख्ने भएकाले निर्माण र स्तरोन्नतिको कामलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।