यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका ५ नम्बर वडाका कृषकहरूलाई कृषि औजार वितरण गरिएको छ ।

एक नम्बर प्रदेश सरकार अन्तर्गत रहेको कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले ५० प्रतिशत अनुदानमा कुम्मायक– ५ को निगाले कृषि सहकारीमा आबद्ध कृषकलाई कृषि औजार वितरण गरेको हो ।

कृषिमा यान्त्रिकीकरणले लागत खर्च घटाई उत्पादन बढाउने विश्वासका साथ मिनिटिलर ५ थान, कुटानी पिसानी मिल ११ थान, मकै छोडाउने मेसिन २ थान, कोदालो १ सय थान, पानी तान्ने मोटर प्लाष्टिक पोखरीलगायतका सामग्री वितरण गरिएको छ । गाउँमै आधुनिक कृषि औजार पाएपछि कृषि क्षेत्रमा काम गर्न सहज हुने कृषक इन्द्रप्रसाद खतिवडाले बताए । थोरै मेहनतमा धेरै बारी जोत्न र उत्पादन बढाउन सहज हुने खतिवडाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले सहकारी संस्थामा सञ्चालन हुँदै आएको सघन बाली विकास कार्यक्रम अन्तर्गत मकै बालीमा सञ्चालित सघन कार्यक्रमबाट उक्त औजार वितरण गरिएको संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । ज्ञानकेन्द्रको १० लाख रकमबाट कृषि खेतीलाई आवश्यक पर्ने औजार वितरण गरिएको हो ।

परम्परागत कृषि प्रणालीका कारण वाह्य बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा यो प्रविधिको विकास गर्ने हो भने कृषिमा आत्मनिर्भर बन्न सक्ने आधार रहेको कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गणेशप्रसाद पोख्रेलले बताए । प्रदेश सरकार अन्तर्गत काम गर्दै आएको ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले सहकारी संस्थामार्फत् विभिन्न समयमा कृषकलाई अनुदानमा कृषि औजार वितरण गर्दै आएको छ ।

सघन बाली कार्यक्रम सञ्चालन हुँदै आएको सहकारी संस्थामा १ सय ४८ शेयर सदस्य रहेका छन् । संस्थामा आबद्ध कृषकहरूलाई ज्ञान केन्द्रले विभिन्न कृषि कार्यक्रमबाट सहयोग गर्दै आएको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत केशवबहादुर मग्रातीले बताए । सहकारी संस्थामार्फत् सघन मकै बाली कार्यक्रमबाट संस्थाका बलबहादुर दाहालले कृषि औजारको प्रयोग गरी अन्य कृषकहरूको तुलनामा बढी मकै उत्पादन गर्न सफल भएको भन्दै ज्ञान केन्द्रले प्रशंसा–पत्र प्रदान गरी सम्मानसमेत गरेको छ ।

krishi