भद्रपुर/ क्वारेण्टिनमा बसेकी सङ्क्रमित महिलासँग उनका आफन्त उठबस गरेको आशङ्कामा कन्काई नगरपालिकाले पाँच दिनका लागि सिल गरेको छ ।
समुदायमा कोरोना फैलिन सक्ने भन्दै नगरपालिकाले पाँच दिनका लागि सिल गरेको हो । कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिएको आशङ्कामा झापाको कन्काई नगरपालिका पाँच दिनका लागि सिल गरिएको कार्यालयले जनाएको छ ।
नगरपालिकामा बसेको आकस्मिक बैठकले एक सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार राति १२ बजेसम्मलाई स्वास्थ्य क्षेत्रबाहेक सबै क्षेत्रलाई बन्द गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिका–७ दुर्गापुरस्थित दलित भवनको क्वारेण्टिनमा बसेकी ३१ वर्षीया महिलालाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिला कुवेतबाट गत असार ३२ गते झापा फर्किएर क्वारेण्टिनमा बसेकी थिइन् ।
क्वारेण्टिनको सुरक्षामा खटिएका प्रहरीको खुट्टा मर्किएपछि उनी केही समय अन्यत्र गएको बेलामा कोरोना सङ्क्रमित युवतीका आफन्त बालकले भेट गरेका थिए । क्वारेण्टिनमा बसेकी महिलाको घरनजिकै रहेको थियो । त्यही भएर नगरपालिकाले वडानम्बर १ देखि ७ सम्मका सबै वडा सिल गर्ने निर्णय गरेको जनाइएको छ ।
महिलाको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले नगरपालिकाभित्र उच्च सतर्कता अपनाउनुका साथै नगर नै सिल गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सोमबार दिउँसोबाट नगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलबाहेक सम्पूर्ण पसल, बैङ्क तथा वित्तीय संस्थालगायत सबै क्षेत्र बन्द गरिएको उनले बताए । कन्काईमा ती महिलासहित चार जनामा कोरोना पुष्टि भइसकेको छ । अन्य तीन जना भारतको कानपुरबाट आएर क्वारेण्टिनमा बसेका थिए ।