धरान/ कोरोनाको महामारीका बेला विदेशबाट फर्कनेहरूले सरकारले तयार गरेको क्वारेण्टिनमा नबसी होटलको क्वारेण्टिनमा बस्न चाहनेलाई शुल्क लिने भएको छ । त्यसका लागि धरानका ११ वटा होटललाई क्वारेण्टिनको रूपमा छनौट गरिएको छ ।

सुनसरी जिल्ला प्रशासनले आइतबार सार्वजनिक गरेको पत्रमार्फत् धरानका ११ होटलहरूको नाम छनौट गरेको उल्लेख छ । तर होटल क्वारेण्टिनमा बस्नेहरूले प्रतिदिन प्रतिव्यक्ति २ हजार १ सय ५० रुपैयाँ आफै तिर्नुपर्ने भएपछि विदेशबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्वबाट सरकार पन्छिएको जस्तो देखिएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन् ।

विदेशबाट आउनेहरू सबैले अकुत नगद कमाएर नआउने भएकाले यस्तो नीति उचित नभएको उनीहरूको भनाइ छ । स्वास्थ्य सुरक्षाजस्तो संवेदनशील विषयमा आफ्नै नागरिकलाई उचित व्यवस्थापन नगरी महँगो शुल्क तिराएर होटलका क्वारेण्टिनमा बसाउनु गलत भएको भयवाद अध्ययन केन्द्रका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेले बताए । उनले भने, ‘विदेशबाट फर्केका नेपालीलाई क्वारेण्टिनमा राख्नुपर्छ तर उनीहरूलाई नै लक्षित गरेर महँगो शुल्कको दर रेट तोकेर बस भन्नु सरकारको लाचारीपन मात्र हो ।’

उनले सरकारले तीन महिनाको अवधिमा करिब १० अर्ब रुपैयाँभन्दा बढी कोरोना महामारीकै व्यवस्थापन, नियन्त्रण, सङ्क्रमितको उपचारको नाममा खर्च गरिसकेको बताए । कोरोनाकै बहानामा करोडौं खर्च गरेर निर्माण गरेको क्वारेण्टिनमा नराखी पैसा तिरेर होटल क्वारेण्टिनमा बस भन्नु सरकारले बनाएको क्वारेण्टिन असुरक्षित र अव्यवस्थित छ भन्ने देखाएको डा. न्यौपानेले बताए ।

सुनसरी जिल्ला प्रसासनले छनौट गरेका धरानका ११ वटा होटलमध्ये ७ वटा होटलमा भारत र कुनै पनि तेस्रो मुलुकबाट आएका नेपाली नागरिकले बस्दा प्रतिव्यक्ति दैनिक २ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्ने उल्लेख गरेको छ । बाँकी चारवटा होटलको दररेट भने तोकिएको छैन ।

पैसा तिरेर होटलका क्वारेण्टिनमा बसाउन खोज्नुले सरकारले करोडौं खर्च गरेर बनाएको भनिएको क्वारेण्टिनप्रति प्रश्न उब्जिएको न्यौपानेले बताए । उनले खाडी मुलुक, मलेसियालगायतमा वैदेशिक रोजगारी गरेर आउने नेपाली नागरिकलाई पैसा तिराएर होटलका क्वारेण्टिनमा बसाउनु सरकारको गैरजिम्मेवारी मात्र भएको बताए ।

महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका रेमिट्यान्समा विद्यावारिधि गरेका प्रा.डा. राजेन्द्र शर्माले सरकारले बनाएको क्वारेण्टिनमा नबसी होटलमा बस्न चाहने विदेशबाट फर्केका नेपाली नागरिकलाई ‘अप्सन’ दिएको हुनसक्ने बताए ।

उनले सरकारले बनाएको क्वारेण्टिन महिला–बालिकाहरूका लागि असुरक्षित बनेको, खाना, पानी, शौचालयको उचित व्यवस्था नभएकाले विदेशबाट फर्कनेहरूले पैसा तिर्न सक्छन् भनेर होटल क्वारेण्टिनको अप्सन दिएको हुनसक्ने बताए । उनले भने, ‘महामारीको बेला धनी मुलुकले पनि व्यवस्थापन गर्न सकिरहेका छैनन् । नेपालजस्तो गरिब मुलुकले धान्न नसक्दा विदेशबाट फर्केका पैसा तिर्न सक्नेहरूलाई लक्षित गरेर होटल क्वारेण्टिनको व्यवस्था गरेको होला ।’

क्वारेण्टिनका रूपमा धरानका कञ्चनजङ्घा, इजिराइडर, यती, र ह्वाइट डोव, नवयुग, ड्रिमल्याण्ड, सन्ध्या इन, सेछ, स्टारपूर्वी, ह्याप्पी ल्याण्ड र याङ्कोप होटललाई होटल व्यवसायी सङ्घसँग समन्वय गरेर छनौट गरिएको जनाइएको छ । होटल क्वारेण्टिनमा सात दिन बस्दा कम्तिमा १५ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

सात दिनपछि पिसिआर जाँच गरेपछि नेगेटिभ नतिजा आएमा घर जान पाउने र पोजेटिभ नतिजा आए सरकारले तोकेको आइसोलेसन वार्डमा भर्ना हुनुपर्ने प्रावधान राखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।