धरान । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको बुधबार ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुरुमा सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोना देखिएपछि त्रिविमा पठाइएको थियो ।

उनको उपचारको क्रममा निधन भएपश्चात् सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बुधबार मात्रै २०१ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संख्या २३ सय पुगेको छ ।

मन्त्रालयका अनुसार धनकुटामा एक जना कोरोना संक्रमित थपिएका छन् । यसअघि धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको थियो । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको हो । उनी केही दिनअघि भारतबाटै नेपाल प्रवेश गरेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

बुधबार सुनसरीमा भारतबाट आएका ७ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै तेह्रथुममा पनि एक जनामा कोरोना देखिएको छ । पाँचथरमा एक जना र झापामा २ जना थपिएका छन् । ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ जा, सप्तरीमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।