धरान । धरान–९ गौतम पथदेखि पब्लिक हाइस्कुलको तल्लाे गेटसम्मको सडक मर्मतको मापदण्डसहित लागत स्टिमेट माग्दा ठेक्का पाएको श्याम कन्ट्रक्सनले त्यहाँको काम छाडेर अन्यत्र काम थालेको पाइएको छ ।

सम्बन्धित वडाका वडाध्यक्ष रत्न कट्वाल तथा सम्बन्धित सडकको सरोकार राख्ने टोल विकास संस्थाले लागत स्टिमेटसहित मर्मतको मापदण्डका विषयमा कागजात माग्दा मर्मत सुरु गरे पनि काम छाडेर अन्यत्र काम गरेको वडाबासीले गुनासो गरे । ‘हाम्रो वडामा सडक मर्मत हुँदैछ, यसको मापदण्ड के छ, कति लागत हो भनेर सोध्दा ठेकेदारले अन्यत्रै काम थाल्यो, यो सडक त्यसै अलपत्र छाडेको छ’–एक स्थानीयले भने ।

वडाध्यक्ष रत्न कट्वालले पनि सडकको लम्बाइ, चौडाइ, मोटाइ के कति मर्मत हुन लागेको हो भनेर कागजात माग्दा हालसम्म नपाएको बताए । त्यो विषयमा बुझ्दा ठेकेदार कम्पनी श्याम कन्ट्रक्सनले काम छाडेर अहिले अन्यत्रै सडकको काम गरिरहेको उनले बताए । ‘उपभोक्ताले मलाई सोध्छन्, वडाध्यक्षलाई यति पनि थाहा छैन भनेर, अब मलाई नै यो सडकको विषयमा केही जानकारी दिइएको छैन’–उनले भने, ‘कस्तो खाल्को काम हो, कति लम्बाइ, चौडाइ, मोटाइ हुने भनेर हामीले सोध्न नपाउने ?’

उनले आफ्नो वडामा बनेको सडकको अनुगमन गर्न पाउनुपर्ने माग गरे । ‘अन्धाधुन्ध काम भइरहेको छ, के कस्तो बन्दैछ भनेर हामीले पेपर माग्दा उहाँहरूले दिनुभएन’ उनले भने, ‘उपभोक्तालाई थाहै नदिई कसरी विकासको काम हुन्छ ?’ उनका अनुसार सम्बन्धित सडकमा पर्ने पूर्णजागरण टोल विकास संस्थाले आफूलाई बारम्बार सडकको बारेमा सोध्ने गरेको भए पनि आफै जानकार नभएकाले केही भन्न सक्ने अवस्था बनेको छैन ।

यो सडक धरान उपमहानगरपालिकाको बजेटबाट बनिरहेको छ । १५ लाख ३९ हजार रुपैयाँको लागत स्टिमेट भए पनि ठेक्का प्राप्त गरेको कम्पनी श्याम कन्ट्रक्सनले केही कममा ठेक्का प्राप्त गरेको हो । श्याम कन्ट्रक्सनले धरानको ७ वटा सडक मर्मतको कामको जिम्मा पाएको छ । असार मसान्तसम्म सक्ने गरी फागुन मसान्तमा धरान उपमहानगरपालिकासँग सम्झौता भएको योजना महाशाखाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार धरान–९ को गौतम पथसँगै अन्य ६ वटा सडक मर्मतको काम भइरहेकाले पनि ठेकेदार कम्पनीले अन्यत्र काम गरिरहेको छ । ‘धनकुटे रोडको काम गर्दागर्दै गौतम पथको पनि सुरु गर्न खोजेका थियौं, बीचमा वडाध्यक्षले हामीलाई जानकारी भएन भनेर भनेपछि छलफल गरौं न त भनेर भनियो’ उनले भने, ‘त्यो बेलासम्म किन रोकिने भनेर एभेरेष्ट लाइनको काम गरिरहेका छन् ।’

उनले ठेकेदार कम्पनीको जिम्मा गौतम पथको सडक पनि भएकाले धनकुटे रोड र एभरेष्ट लाइनको काम सकेर गौतम पथको काम थाल्ने बताए । ‘सुरुवात भएर छाड्दाखेरि मान्छेहरूले त्यस्तो भनेको हुनसक्छ, त्यस्तो होइन, धनकुटे रोड र एभरेष्ट लाइन सकेर त्यहाँको काम हुन्छ’–उनले भने ।

यता श्याम कन्ट्रक्सनका साइट इन्चार्ज प्रभाष तामाङले आफूहरूले काम नरोकेको बतााए । ‘हामीले रोकेको पनि होइन, कामै नगर्ने भनेको पनि होइन, साइट इन्चार्जले रोकेको पनि होइन, मेन समस्याचाहिँ प्लान्ट कहाँ राख्ने भन्ने हो’–उनले टेलिफोन सम्पर्कमा भने ।

सुरुवातमै गौतम पथको काम थाल्ने भनेर खाल्डाखुल्डी कटिङ सुरु गर्दा वडाध्यक्षले देखेपछि ‘हामीलाई केही जानकारी छैन’ भन्दै भनेपछि आफूहरूले लागत स्टिमेट प्रिन्ट गरेर दिएको उनले बताए । ‘खाल्डाखुल्डी कटिङ गर्दा उहाँले हेर्नुभएछ, अध्यक्षले बजेट के केसो हाे भनेपछि हामीले प्रिन्ट पनि गरेर दिएका थियौं’ उनले भने, ‘अध्यक्षज्यूले के सोचेर अड्को थाप्नु भएको हो हामीलाई थाहा भएन ।’ अध्यक्षले भनेकै आधारमा छलफल बसेर काम गर्ने भन्ने भएपछि अन्य सडकको काम थालेको उनले बताए ।

यस कारण माग्न पाउँछन् सूचना

सूचनाको हकसम्बन्धी ऐन २०६४ को परिच्छेद २ मा ‘सूचनाको हक र सूचना प्रवाहसम्बन्धी व्यवस्था’ को दफा ३ को १ मा ‘प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ’ भनी व्यवस्था गरिएको छ । सोही परिच्छेदको दफा ४ को १ मा ‘प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ’ भनी व्यवस्था गरेको छ । सोही दफाको उपदफा २ को ग मा ‘आफ्नो काम कारबाही खुला र पारदर्शी रूपमा गर्ने’ भनेर उल्लेख गरेको छ ।