धरान । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकालाई कोरोना महामारीका बेला भारी मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । परिषद्का संयोजक मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई करिब ७ करोड ७४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

तिब्बत सरकारले २ सेट पीसीआर मेसिन, ३ थान भेन्टिलेटर, एक थान पोर्टेबल एक्सरे मेसिन उपलब्ध गराएको छ । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोभ्स् १० हजार, फेसशिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने मुख्यमन्त्री राईले बताए । सामाग्री उपलब्ध गराएकोमा तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद ज्ञापन गरे ।

प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तीव्र बनाएको छ । प्रदेश १ मा हालसम्म करिब ८ हजार मात्रै पीसीआर परीक्षण भएको छ । यहाँ १ सय ६२ जनालाई कोरोना संक्रमण पुष्टि भए पनि ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।