पथरीशनिश्चरे/कोरोना भाइरसको नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका मोरङ र झापाका शिविरमा रहेका भूटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास भएका भूटानीहरुले १ करोड बढीको राहत व्यवस्था गरेका छन् ।

इन्ट्रा इन्टरनेशनल वेलफेर सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत मोरङको पथरीशनिश्चरे र झापाको दमकस्थित बेलडाँगी शिविरका भूटानी शरणार्थीलाई जनही १ हजार नगद र १० किलोग्रामका दरले चामल उपलब्ध गराएको छ । दुवै शिविरको कार्यक्रममा नायक दिलिप रायामाझी, इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कँडेल, युट्युवर भाग्य न्यौपाने सहभागी भएर सामग्री वितरण गरे । 

पथरीशनिश्चरे शिविरमा ५ सय ५२ परिवारमा रहेका १ हजार ५ सय ५२ जनालाई १५ लाख ५२ हजार नगद र १६ हजार किलो चामल वितरण भएको संस्थाले जनाएको छ । बेलडागी शिविरमा ६८ लाख नगद र ५४ लाख चामल वितरण गरिएको छ ।

पथरीशनिश्चरेको राहत वितरण कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, शिविर सचिव चम्पासिंह राई, इलाका प्रहरी कार्यालय पथरी प्रहरी प्रमुख दिलिपकुमार गिरीलगायत सहभागी थिए ।

अमेरिकामा पुनर्वास भएका भूटानी शरणार्थीहरू डिल्लिराम अधिकारी, मेघ सुवेदी, विष्णु सिवाकोटीलगायत २ सय ९ जनाले ७३ हजार २ सय ३१ अमेरिकी डलर संकलन गरी राहत पठाएका हुन् । 

शिविरमा क्यारितास नेपाल, एलडब्लूएफ, बिर्तामोड उद्योग वाणिज्य संघ झापा, शैशिक अभियान, कञ्चनजंघा युवा क्लब पथरीशनिश्चरेलगायत संघसंस्था र व्यक्ति गरी १२ पटक राहतस्वरूप चामल, दाल, तेल र नुन वितरण गरेको शिविर सचिव चम्पासिंह राईले जनाए ।

शरणार्थीहरू तेश्रो मुलुक पुनर्वास हुँदै जाँदा खाध्यान्न लगायतको सुविधा गत वर्ष सन् २०१९ मार्चदेखि बन्द भएको थियो । जसमध्येमा १ सय १८ परिवारलाई युएनएचसीआरमार्फत् सामान्य राहत दिइँदै आए पनि अपुग राहतले समस्यामा थिए । राहत सुविधा कटौती गरेपछि तेस्रो मुलुक नगएकाहरूले नेपालमै श्रम गरेर जीविकोपार्जन गर्दै आएका थिए ।