धरान । पर्यटनमा परेको असरबारे सुनसरीका महिला पत्रकारहरूलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

क्रियाशील पत्रकार महिला सुनसरीको आयोजनामा आइतबार धरानमा क्षमता अभिवृद्धिबारे तालिम प्रदान गरिएका हो । कोरोनाले विश्वको अर्थतन्त्रमा नै प्रभाव पारेको बेला पर्यटनमा पनि उस्तै गरी प्रभाव पारेको सहजकर्ता भवानी बरालले जानकारी दिए । उनले कोरोनाले पर्यटन ध्वस्त बनाइसकेकाले लुकाउनु पर्ने कुनै कारण नरहेको दाबी गरे । उनले भने,–‘आर्थिक कारणले मात्रै हैन, मानवीय मोबिलिटीका कारणले पनि पर्यटन व्यवसाय चौपट बनेको छ ।’

तालिममा सुनसरीका २० महिला पत्रकारहरू सहभागी छन् । सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरिरहे पनि विकल्प नदिँदा समस्या भएको सहजकर्ता बरालको तर्क छ । ‘लकडाउन मात्रै भयो, विकल्प दिइएन, कम्तीमा सरकारले विकल्प दिएर लकडाउन गर्नुुपथ्र्यो’–उनले भने । उनले बढ्दो संक्रमणको अवस्था हेर्दा नेपालको स्वास्थ्य व्यवस्थापन एकदमै फितलो देखिएकाले स्वास्थ्यसम्बन्धी विश्लेषणात्मक रिपोर्टिङ गर्न सकिने बताए ।

विगतमा आएका पर्यटकहरूको विश्लेषण गर्दा नेपालमा तीन खाल्का पर्यटक ‘हिमाल हेर्ने, जैविक विविधता अध्ययन गर्ने र मनोरञ्जन’ गर्नेहरू मात्रै आउने गरेको उनले बताए । त्यसक्रममा सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ र क्रियाशील पत्रकार प्रदेश १ की अध्यक्ष गंगा बरालले सहजीकरण गरेका थिए । सुनसरीकी अध्यक्ष चाम्लिङले कोरोना महामारीका कारण लकडाउन लम्बिरहँदा पर्यटन व्यवसाय ध्वस्त भइरहेकाले त्यसविषयमा कसरी रिपोर्टिङ गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराउन तालिम दिइएको बताइन् ।

सामाजिक दूरी कायम गरेर गरिएको तालिममा सुनसरीको इटहरी, इनरुवा र धरानका सक्रिय महिला पत्रकारहरू सहभागी रहेका थिए । प्रदेश सांसद् विकास कोषको सहयोगमा कार्यक्रम गरिएको हो ।