धरान । धरान प्रहरीले लकडाउन यता मात्रै ब्राउन सुगरसहित भारी परिमाणमा लागूऔषध बरामद गर्न सफल भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत २९ गते धरान–११ बाट ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । १ ग्राम ब्राउनसुगरसहित प्रहरीले हिमाल राई र दनि राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यस्तै जेठ १० गते प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गर्न सफल भएको थियो । धरान–१३ बाट प्रहरीले समिया लिम्बू, घनश्याम राई र मन्दिप मगरलाई पक्राउ गरेको थियो । उक्त घटनामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर, १५० ट्याब्लेट नाइट्रोसन, र ८३ हजार रुपैयाँ नगद बरामद गर्न सफल भएको थियो ।

त्यस्तै जेठ १३ गते धरान–९ बाट शुभचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । शुभचन्द्रको साथबाट प्रहरीले २ लाख ३७ हजार रुपैयाँ नगदसहित ८० बोतल डाइलेक्स, १२८० क्याप्सुल स्पास्मोप्रोक्सिभन र ३०० ट्याब्लेट नाइट्रोसन बरामद गरेको थियो । उक्त घटनामा पनि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । विगतको तुलनामा लकडाउन अवधिमा लागूऔषधमा कम पक्राउ परेको प्रहरीले जनाएको छ । तर, परिमाणका हिसाबले भने विगतभन्दा बढी रहेको छ ।