कालाबञ्जार । गत माघमा आगोले पोलेर गम्भीर घाइते बनेकी सुनसरी वराहक्षेत्र–५ की देबिका बराइलीलाई आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

शनिबारसम्म २ लख ९ हजार ६४४ रुपैयाँ संकलन भएको छ । उनलाई थप उपचारको लागि काठमाडौं लाने तयारी गरिएको छ । यसअघि उनको उपचार विराटनगरको म्याक्स हस्पिटलमा हुँदै आएको थियो । तर, उनको पोलेको भागमा छाला टाल्नु पर्ने भएपछि थप उपचारका लागि काठमाडौं लानु पर्ने देखिएको थियो । तर, आर्थिक अभावका कारण परिवारले घरमै राखेर सामान्य उपचार गर्दै आएका थिए ।

स्थानीयहरूले उपचारका लागि सहयोग गर्न चासो देखाएपछि उनको थप उपचार हुने भएको हो । शरीरको छाती र पेटको भाग जलेको थियो । उपचारका लागि करिब ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उनको उपचारका लागि नरेश विकको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको थियो । उनले विभिन्न क्षेत्रमा पुगेर आर्थिक सहयोग जुटाएका छन् ।

संयोजक विक र लिलिस पोमुसहितले ४८ हजार ३ सय ४० रुपैयाँ, चक्रघट्टीबाट संयोजक प्रदीप ढकालमार्फत् ५३ हजार ९ सय १५ रुपैयाँ, लक्ष्मी परियारमार्फत् ७ हजार ३ सय, वराह नगरपालिकाबाट ८ हजार, वराहक्षेत्रका महेन्द्र र सम्झना श्रेष्ठबाट ५ हजार, पथरी मिडियाबाट ७० हजार २५ रुपैयाँ, नहडाकी कुमारी लिम्बूले ३१ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

आज उनलाई उपचारको लागि काठमाडौं लाने तयारी भएको संयोजक नरेश विकले जानकारी दिए । काठमाडौंको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार गरिने भएको छ । यसका लागि काठमाडौंमा जनता समाजवादीका नेता दलमर्दन कामीको नेतृत्वमा उपचार हुने छ ।