धरान । धरान–१८ मा प्लाष्टिकको चामल भेटिएको भन्ने हल्ला निराधार रहेको प्रमाणित भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सुनसरीले गरेको ल्याब परीक्षणको क्रममा प्लाष्टिकको चामल भएको भन्ने हल्ला निराधार रहेको जनाएको छ  । प्लाष्टिकको चामल भए/नभएको प्रमाणित गर्नका लागि जिल्ला खाद्य प्राविधिक बिक्रम लिम्बूले परीक्षण गरेका थिए । उनका अनुसार आयोडिन मिसाएर परीक्षण गर्दा सुरुमा आयोडिनको रङ्ग ‘गोल्डेन ब्राउन’ हुने र हालेको केही समयपछि ‘लाइट ब्राउन’ भएकाले पनि प्लाष्टिकको चामल नभएको प्रमाणित गरे ।

उनले रसायनिक प्रतिक्रियामार्फत् परीक्षण गर्दा पनि प्लाष्टिकको चामल नभएको पुष्टि भएको बतए । उनले घरेलु उपायमार्फत् पनि चामलको परीक्षण गर्न सकिने विधिबारे जानकारी दिँदै भने, ‘यदि प्लाष्टिकको चामल छ भने पानी हाल्नेबित्तिकै तैरिन्छ । अर्को कुरा चपाउँदा चामलमा हुने गुण स्ट्रयाच (लस्सादार) क्षमता हुँदैन र गन्ध पनि आउँदैन । पहिलो कुरा प्लाष्टिकको चामल चपाउनै सकिँदैन ।’

उनले घरेलु विधि अन्तर्गत नै चामललाई आगोमा डढाएर पनि हेर्न सकिने बताए । चामल डढाउँदा गन्ध आउने र प्लाष्टिक डढाउँदा अर्कै किसिमको गन्ध आउँछ । यसरी पनि चामल प्लाष्टिकको भए नभएको प्रमाणित गर्न सकिने उनले बताए । धरान–५ मा पनि प्लाष्टिकको चामल भेटिएको भन्दै धरान उपमहानगरको बजार अनुमगन समितिको टोली पुगेको छ ।

खाद्य प्राविधिक लिम्बूले विश्वभरि प्लाष्टिकको चामल भेटिएको भन्दै हल्ला आउने गरे पनि ल्याबमा परीक्षण गर्दा त्यस्तो नभेटिएको बताए । धरान उपमहानगरपालिकाको १८ नम्बर वडाबासीले प्लाष्टिकको चामल भेटिएको भन्दै उपमहानगरलाई गुनासो गरेपछि सोही आधारमा खाद्य निरीक्षक बोलाएर प्रमाणित गरिएको थियो । खाद्य प्राविधिक लिम्बूले प्लाष्टिकको चामल भेटिएको भन्दै सामाजिक सञ्जाललगायतमा आउने कुराहरू सबै हल्ला मात्रै रहेको बताए । त्यसका पछि नलाग्न उपभोक्ताहरूलाई उनले आग्रह गरे ।

rice_test

प्लाष्टिककाे चामल भेटिएकाे भनेपछि अायाेडिन हालेर परीक्षण गरिँदै ।