धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा हिजो (शुक्रबार बिहान) मृत अवस्थामा भेटिएका कलम राईलाई पूर्व रिसिइबीका कारण हत्या गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीको टोलीले अनुसन्धानको क्रममा पूर्व रिसिइबीका कारण हत्या गरेको खुल्न आएको जनाएको छ । हत्यामा संलग्न वराहक्षेत्रकै गणेश लिम्बूलाई पक्राउ गरिएको छ । गणेशलाई केही समय अगाडि कमलले सामान्य कुटपिट गरेको र सोही कारण गणेशले बिहीबार राति हत्या गरेको इप्रका चक्रघट्टीका इन्स्पेक्टर शरणकुमार दाहालले जानकारी दिए ।
कमल मादक पदार्थ सेवन गरेर हिँड्दै गरेको अवस्थामा गणेशले भेटेपछि पूर्व रिसिइबी साँध्नका लागि पुनः रक्सी सेवन गराएर वराहक्षेत्र–३ इक्राहीस्थित जमुनकित्ताको प्लटिङ क्षेत्रमा आइपुगेपछि असारे जातको लौरोले हिर्काएर हत्या गरेको खुल्न आएको इन्स्पेक्टर दाहालले जानकारी दिए । कमलको संवेदनशील अङ्ग, टाउँकोमा आक्रमण गरेको पाइएको छ ।
हत्यामा संलग्न गणेश र प्रदीप ।
उनलाई साथ दिएका वराहक्षेत्र ३ कै प्रदीप राजधामीलाई समेत पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरूले प्रयोग गरेको दुई थान असारे जातको लौरो बरामद गरिएको प्रहरील्े जनाएको छ । झापाको दमक स्थायी घर भई पत्नी मधु राईसँग वराहक्षेत्र–३ भानुचौकमा गत फागुनदेखि बस्दै आएका थिए ।