कालाबन्जार । आगोले पोलेर गम्भीर घाइते बनेकी बालिकाको परिवारलाई वराहक्षेत्र नगरपालिका र करुणा फाउण्डेशनले शुक्रबार आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

वराहक्षेत्र–५ सिमरवनचोककी ५ वर्षीया बालिका देविका विकको परिवारलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको हो । करुणा फाउण्डेशन नेपाल साझेदारी कार्यक्रमले चामल ५० केजी, दाल ५ केजी, राजमा दाल ५ केजी, नुन २ केजी र तेल २ लिटर प्रदान गरिएको सिविआरएभ लीला बस्नेतले बताइन् । पीडित बालिकाकी आमा लक्ष्मी बराइलीलाई ५ नम्बर वडा सदस्य टंक गौतम, सदस्य पदम श्रेष्ठ र समाजसेवी गोविन्द दाहाललगायतले खाद्यान्न तथा नगद प्रदान गरेका थिए । पीडित परिवारलाई ८ हजार रुपैयाँ नगद पनि दिइएको थियो ।

देविकालाई गत माघ २२ गते घरमै आगोले पोलेको थियो । उनको अगाडिको छातीको भाग र पेटमा आगोले पोलेर गम्भीर घाइते बनेकी थिइन् । उनलाई विराटनगरको म्याम्स अस्पतालमा उपचार गरिरहेका थिए । तर, आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको पीडित बालिकाकी आमा लक्ष्मी बराइलीले बताइन् । आगोले पोलेको भागमा छाला लगाउनुपर्ने (स्किन ग्राफ्टिङ) गर्नुपर्ने भएपछि परिवार थप समस्यामा परेको थियो । बिहीबार वराहक्षेत्र–३ बाङ्गेका मुकुन्द श्रेष्ठ र सम्झना श्रेष्ठले नगद ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।