धनकुटा /  लकडाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजीवी पत्रकार र सञ्चारगृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले लगाइएको लकडाउनका कारण संकटमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई र संचार गृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले स्थापना गरेको पत्रकार कल्याण कोषको रकमबाट तत्काललाई राहात पुग्ने गरी आर्थिक सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा गठित आर्थिक सहयोग समितिले राहात स्वरुप धनकुटाका २६ जना श्रमजिवी पत्रकार र सञ्चार गृहमा काम गर्ने श्रमीकहरुलाई पहिलो चरणमा जनही २ हजारका दरले आर्थिक सहयोग वितरण गरेको हो ।

लामो समय देखिको लकडाउनको कारण समस्यामा परेका २६ जना पत्रकारहरुलाई पहिलो चरणमा आर्थिक सहयोग गरिएको र बाँकी अन्य पत्रकारहरुलाई पनि दोस्रो चरणमा आर्थिक सहयोग उपलब्ध गराउने नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले वताए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले १० बर्ष अघि तत्कालिन अध्यक्ष विजय सन्तोषी राईको कार्यकालमा स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गदैं आएको छ ।