• मिकाइल आलम 
भण्टाबारी । लकडाउनको समयमासमेत सुनसरीका विभिन्न सीमा नाकाहरुबाट तस्करी हुने गरेको पाइएको छ । भारतबाट कोरोना संक्रमित व्यक्ति भित्रिन न दिन जिल्लाका सीमावर्ती क्षेत्रहरूमा पहिलाको तुलनामा सुरक्षाकर्मी बढाए पनि तस्करी रोकिएको छैन । श्रोतका अनुसारका सुनसरीको बसन्तपुर,घुस्की,हरिनगर, लाही,कोशी ब्यारेज,कप्तानगंजसहितका नाकाबाट दैनिक रूपमा भन्सार छलेर लाखौंको समान भारतबाट भित्रीने गरेका छन् ।
 
लकडाउनको समयमा दसगजा क्षेत्रमा चोरीपैठारी नियन्त्रण तथा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा त्यसरी तस्करी हुने गरेको श्रोतको दाबी छ । भारतबाट लकडाउनको समयमा विभिन्न प्रकारका कपडा,खैनी,रजनिगन्धा,चीनी लगायत विभिन्न किराना सामानहरु अवैध रूपमा भित्रीने गरेका छन् भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ ।
 
केही दिनअघि सुनसरीको कोशी गाउँपालीकास्थित लाहीबाट सशस्त्र प्रहरीले लगभग साढे ३ लाख मुल्य बराबरको उमंग मदिरा १०५ कार्टुन नियन्त्रणमा लिएको थियो । खाद्यान्न सामाग्री तथा तरकारी ढुवानी लेखिएको को १ च ९१५८ नम्बरको म्याजिकमा नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल लाहिबाट खटिएको टोलिले म्याजिक सहित उमंग मदिरा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल लाहीका अनुसार नियन्त्रणमा लिएका मदिराको ३ लाख ५० हजार र म्याजिकको ७८ हजार ७५० रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ ।
 
त्यसैगरी बिहीबार सुनसरी हरिनगर गाउँपालीका वार्ड नम्बर ५ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट नेपाल प्रहरीले मोटरसाइकलसहित रक्सी बरामद गरेको छ । नेपालबाट भारततर्फ को ४ प ६०११ र को ३ प ७०८२ नम्बरको मोटरसाइकलमा २/२ बोराका दरले  दिलवाले रक्सी लोड गरी लैजादै गरेको अवस्थामा गस्तिमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
 
सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर सुनसरीका सीमा नाकाहरुबाट तस्करी हुँदै आएकोबारेमा व्यापक गुनासो आएपनि यसबारे सम्बन्धित निकाय मौन बस्दै आएका छन् । खासगरी पछिल्लो समयमा सुनसरीको बसन्तपुर,घुस्की र भुटाहा नाकाबाट व्यापक रूपमा तस्करी बढेको नाम उल्लेख नगर्ने शर्तमा एकजनाले बताए । सीमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा सीमावर्ती क्षेत्रका केही जनप्रतिनिधिहरुले तस्करी गर्ने गरेको ति व्यक्तिको भनाइ छ ।
 
यता सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले सीमावर्ती क्षेत्रबाट लकडाउको समयमा तस्करी हुने गरेको सम्बन्धमा गुनासो आएको बताउदै तस्करी नियन्त्रण गर्न आफूहरू लागिपरेको बताएका छन् । तस्करी सुरक्षाकर्मीको संग्लनता पाइए कारबाही गरिने उनले दाबी गरे । तस्करी भएको धेरै गुनासो आएपछि सीमावर्ती क्षेत्रमा खटिएका केही बिओपीबाट सुरक्षाकर्मीको टोलि परिवर्तन गर्ने तयारी भएको श्रोतको भनाइ छ ।