धरान । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराएको छ ।
दलित पत्रकारको केन्द्रीय कार्यसमितिको निर्णयअनुरूप देशका ७७ वटै जिल्लामा मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराउने क्रममा शुक्रबार सुनसरीको धरानमा पनि ध्यानाकर्षण गरिएको हो । धरानको इलाका प्रशासन कार्यालयमा अगाडि मैनबत्ती बाल्दै आधा घण्टासम्म शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको जिल्ला अध्यक्ष दिनेश गजमेरले जानकारी दिए । दलितहरूमाथि भएको विभेदमा सरकार मौन बस्दै आएकाले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।
‘दलितहरूमाथि हुने घटनामा सरकार अझै पनि अध्याँरोमै रुमल्लिरहेको छ, त्यसैले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको हो’–अध्यक्ष गजमेरले भने, ‘चौरजहारीको घटनामा कानूनी प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छौं ।’ बेपत्ता र शव भेटिएका ६ जनाको मृत्युमा मौनधारणसहित हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको उनले बताए । हालसम्म यो घटनामा ६ जना बेपत्ता बने पनि ५ जनाको मात्रै शव फेला परेको छ ।
तस्बिरः उपेन्द्र चाम्लिङ
विरोध कार्यक्रममा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङ, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, फाेनिजका प्रदेश सल्लाहकार जनकऋषि राई, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुनचेउरीलगायत सहभागी हुँदै ऐक्यवद्धता जनाए । घटनामा संलग्नहरूलाई कानूनी कारबाही गर्नुपर्ने माग राखिएको छ । हालसम्म घटनामा संलग्न भएको आशंकामा एक वडाध्यक्षसहित १८ जनालाई नियन्त्रणमा लिइसकेको छ भने २ जना फरार छन् ।
पीडित पक्षले २० जनाविरुद्ध उजुरी दिएका थिए । सरकारले पनि गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ । समितिले सत्यतथ्य छानबिन गर्दै सरकारलाई प्रतिवेदन बुझाउने छ । एक मल्ल थरकी युवतीलाई लिन गएका युवाहरूमध्ये नवराज विकसहित ६ जना बेपत्ता बनेका थिए । जाजरकोटको भेरी नगरपालिका–४ का नवराजसहित १९ जनाको समूहमा गएका उनीहरूमाथि गाउँलेले आक्रमण गरेको आरोप लगाइएको छ ।