कालाबन्जर । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ जमुनगाछीमा एक युवाको शव फेला परेको छ ।

जमुनगाछीमा एक निर्माणाधीन घरमा कार्यरत ३७ वर्षीय कमल राईको शव फेला परेको हो । ती युवा प्लटिङ गरेको क्षेत्रमा घोप्टो परेको अवस्थामा भेटिएका छन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय झापाको दमक बस्दै आएका ती युवा अस्थायी रूपमा वराहक्षेत्र–३ भानुचौकमा पत्नी मधु राईसँग बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख इन्स्पेक्टर शरणकुमार दाहालले शव फेला परेको बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेकाले हत्या वा अन्य कारणले मरेको हो भन्ने पुष्टि हुन केही समय लाग्ने बताए ।

उनका अनुसार दुई पत्नी रहेका कमलले पहिलो पत्नीसँग वर्षौंअघि नै सम्बन्ध विच्छेद गरेका थिए । हाल दोस्रो पत्नीको साथमा बस्दै आएका उनको तीन छोरा रहेका छन् । पत्नी मधुले पतिको हत्या भएको हुनसक्ने बताएकी छन् । उनले हत्यामा संलग्नको खोजी गरी चाँडोभन्दा चाँडो सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् ।

प्रारम्भिक अनुसन्धानमा कमलले मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ । उनको हत्यातर्फ संकेत गर्ने इन्स्पेक्टर दाहालले जानकारी दिए । शवको पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ । हत्या वा अन्य कारणले हो त्यो विषयमा मृतक कमल बिहीबार कहाँकहाँ गएको भन्ने विषयमा खोजबिन थालिएको छ । इन्स्पेक्टर दाहालले तीन जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालिएको छ । ‘शंकाको आधारमा हामीले तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं’–उनले भने ।

मृतक परिवारले हालसम्म प्रहरीमा निवेदन दिएको छैन । मौखिक उजुरीको आधारमा हाल अनुसन्धान गरिरहेको छ ।